गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १८ गते । काठमाडौँका १० क्षेत्र, भक्तपुरका दुई र ललितपुरका तीन जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको उल्लासमय माहोल देखिएको छ । राजधानीका तीन जिल्लाका ११ लाख ८४ हजारभन्दा बढी मतदाताले १५ जना प्रतिनिधि सभा सदस्य छान्ने छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्ना मुद्दा मतदातालाई बुझाउने र जनविश्वास आर्जन गरेर संसद्मा पुग्ने आकाङ्क्षासहित विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलसहित अन्य साना राजनीतिक दल र स्वतन्त्र गरी काठमाडौँ, भक्तपुर र ललितपुरका ३७८ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका उम्मेदवारले मौन अवधि सुरु हुनुअघि सोमबार घरदैलो र निर्वाचनकेन्द्रित सभा आयोजना गर्दै छन् ।
एकीकृत विकासको अवधारणा
काठमाडौँ, भक्तपुर र ललितपुरका उम्मेदवारले राजधानीको समग्र विकासका पक्षमा अवधारणा सार्वजनिक गरेका छन् । विघटित संसद्का प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवारले उपत्यकाको बृहत्तर विकासका १० अवधारणा तयार पारेका छन् । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पनि पार्टीको घोषणापत्रमा आधारित रहेर राष्ट्रियसँगै स्थानीय मुद्दा सम्बोधन गर्ने गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधि सभा निर्वाचनले काठमाडौँ, भक्तपुर र ललितपुरको एकीकृत विकास र समुन्नतिका लागि मार्गचित्र तयार पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नवीन अवधारणा भन्नासाथ अब शब्दावली मात्रै नवीन भएर हुँदैन । मैले दुई कार्यकाल प्रमुख भएर काम गर्दाको अनुभवले काठमाडौँ उपत्यकामा १८ वटा पालिका आवश्यक छैन भन्ने निष्कर्षमा पुगेको छु । एउटै पालिका अथवा बृहत् काठमाडौँ महानगरपालिका बनाउनु पर्छ । एक जना प्रमुख, मातहतमा १२–१३ जना उपप्रमुख र १५१ वडा बनाएर वडाध्यक्ष राख्नु पर्छ भन्ने मेरो प्रस्ताव हो ।”
उम्मेदवारका प्रतिबद्धता
कांग्रेस महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार प्रदीप पौडेलले प्रमुख राजनीतिक दलमाथि देश सञ्चालनको अभिभारा हुने भए पनि राजधानीको एकीकृत विकासका लागि अवधारणा बनाएर काम अघि बढाउने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “बृहत्तर विकास परियोजना निर्माण गरिएको छ । सरकार बनेपछि कार्यान्वयनको चरणमा लैजानेमा हामी दृढ छौँ ।”
एमाले वरिष्ठ नेता एवं काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार ईश्वर पोखरेलले राजधानीलाई नमुना सहरका रूपमा विकास गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने र विकास निर्माण अघि बढाउने पक्षमा हामी सधैँ प्रतिबद्ध छौँ ।”
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार राजकाजी महर्जनले राजधानीभित्र पनि नागरिक अनेकौँ समस्यामा रहेकाले सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गर्न अब बन्ने सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकका आवश्यकतामाथि ध्यान दिनु पर्छ । उपत्यकालाई मौलिक सांस्कृतिक सम्पदाको सहर बनाउनु पर्छ र बस्नयोग्य बनाउनु पर्छ ।” रास्वपा नेतृ एवं काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवार रञ्जु दर्शना न्यौपानेले सङ्घीय संसद्ले कानुन निर्माणको प्रमुख दायित्व पूरा गर्दै समुन्नत, समृद्ध र मौलिक सहर बनाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले काठमाडौँ उपत्यकालाई कस्तो बनाउने भनेर पहिल्यैदेखि बहस गरिरहेका छौँ । काठमाडौँलाई संस्कृति र आधुनिक पक्षसँग गाँसेर नवीनतम् विशेषतायुक्त मौलिक सहरका रूपमा विकास गर्नु पर्छ ।”