प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १७ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृतहरूलाई निर्वाचन सामग्री वितरण सुरु गरिएको छ। मतदान केन्द्रमा प्रयोग हुने ४९ प्रकारका सामग्री सम्बन्धित अधिकृतहरूलाई बुझाउन थालिएको हो।
जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार हिजोदेखि सामग्री वितरण गर्ने तयारी रहे पनि सम्बन्धित मतदान अधिकृत उपस्थित नभएपछि आज बिहानदेखि वितरण कार्य सुरु गरिएको हो। उहाँका अनुसार मतदान केन्द्रका लागि आवश्यक सम्पूर्ण सामग्री कार्यालयबाट व्यवस्थित रूपमा वितरण भइरहेको छ।
मतदाता नामावली, मतपत्र, मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसीलगायतका सामग्री तयारी अवस्थामा राखिएको थियो। जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीका अनुसार मतदान अधिकृतहरूलाई आवश्यक सामग्री जिम्मेवारीसाथ बुझाइएको छ र सम्बन्धित मतदान केन्द्रतर्फ पठाउन थालिएको छ।
सल्यान जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएका छन्। ती केन्द्रमा खटिने गरी ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरी परिचालन गरिएको छ। जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन्।
मतदान केन्द्र सञ्चालनका लागि सियो, धागो, सुतलीजस्ता सामान्य सामग्रीदेखि मतपत्र र मतपेटिकाजस्ता संवेदनशील सामग्रीसम्म जिम्मेवारीपूर्वक हस्तान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यस निर्वाचनमा १२ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।