• १७ फागुन २०८२, आइतबार

डडेल्धुरामा महरको परीक्षा : कांग्रेसको विरासत जोगिएला ?

blog

प्रकाशविक्रम शाह
धनगढी, फागुन १७ गते ।
यसपटक सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा कसले जित्ने भन्ने अनुमान गर्न कठिन देखिएको छ । यसमध्ये सबैभन्दा चासोको केन्द्र डडेल्धुरा बनेको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदल र गणतन्त्रपछिका सातवटै निर्वाचन जित्दै आएको डडेल्धुरामा यसपटक भने उहाँ उम्मेदवार हुनुहुन्न । कांग्रेसले नयाँ अनुहारका रूपमा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।

राजनीतिमा करिब ३० वर्षदेखि सक्रिय ५१ वर्षीय महर संसदीय निर्वाचनका हिसाबले नयाँ मानिनुहुन्छ । उहाँ नेविसंघका विभिन्न तह हुँदै केन्द्रीय अध्यक्ष र नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसक्नुभएको छ । पत्रकारितामा पनि सक्रिय रहनुभएका महर नेपाल पत्रकार महासंघ डडेल्धुराका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

महरले महाकाली, सेती र कर्णाली नदीको उपयोग गरी विद्युत् उत्पादनमार्फत आर्थिक विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी अभियान सञ्चालन गर्नुभएको छ । साथै डडेल्धुरामा कांग्रेस सरकारका पालामा भएका विकासका कामलाई पनि मतदातासामु प्रस्तुत गर्दै समर्थन जुटाउने प्रयास गर्नुभएको छ ।

यद्यपि महरलाई नेकपा (एमाले), नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबाट कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विपक्षी दलहरूले कांग्रेसको आन्तरिक एकता कमजोर भएको र पूर्वप्रधानमन्त्री देउवाले महरलाई मन नपराएको चर्चा गर्दै चुनाव आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेबाट चक्र स्नेही, नेकपाबाट मानसिंह माल र रास्वपाबाट डा. ताराप्रसाद जोशी उम्मेदवार हुनुहुन्छ ।

विपक्षी दलहरूले कांग्रेस कमजोर भएको तर्क २०७९ सालको समानुपातिक मत परिणामलाई आधार बनाएर गर्दै आएका छन् । सो निर्वाचनमा देउवा व्यक्तिगत प्रभावका कारण २५ हजार ५३४ मत पाएर विजयी भए पनि कांग्रेसले समानुपातिकतर्फ १८ हजार ५६३ मत मात्र पाएको थियो ।

एमालेका नेता तथा पूर्वजिविस सभापति गजेन्द्र शाहीले उक्त मत आफ्नो पक्षमा तान्न सकिने दाबी गर्नुभयो । समानुपातिकतर्फ एमालेले नौ हजार २१४, नेकपा (माओवादी केन्द्र) ले आठ हजार ७११, समाजवादीले ६११ र रास्वपाले तीन हजार ६५० मत पाएका थिए ।

शाहीका अनुसार २०६४ सालको संविधानसभा निर्वाचनमा जस्तै यसपटक पनि प्रतिस्पर्धा कडा हुने देखिएको छ । उक्त निर्वाचनमा देउवाले नेकपा (माओवादी केन्द्र) का खगराज भट्टलाई एक हजार ३६८ मतान्तरले पराजित गर्नुभएको थियो ।

नेकपाका उम्मेदवार मानसिंह मालले महर देउवासँग नजिक रहेकाले सत्तासँग जोडिएको छवि बनेको बताउँदै आफू नयाँ उम्मेदवार भएकाले जनताले साथ दिने दाबी गर्नुभयो । उहाँका अनुसार समाजवादी र माओवादीबीचको सहकार्यले नेकपा बलियो भएको छ ।

रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशीले पनि आफ्नो व्यक्तिगत छवि र पार्टीको प्रभावका कारण जित्ने दाबी गर्नुभएको छ ।

कांग्रेसका जिल्ला सहसचिव प्रेम महरले भने विपक्षी दलहरू विभाजित भएकाले कांग्रेसलाई फाइदा पुग्ने बताउनुभयो । उहाँका अनुसार कांग्रेसका छ हजार क्रियाशील सदस्य, सातमध्ये पाँच पालिका र ५२ मध्ये २९ वडा कांग्रेसले जितेको तथ्य जितका आधार हुन् ।

पूर्वसभापति देउवा स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसके पनि उहाँ निकट नेता–कार्यकर्ता सक्रिय रहेको र पुराना नेता कर्ण मल्ल पनि फर्किने तयारीमा रहेकाले कांग्रेस बलियो रहेको उहाँको दाबी छ ।

कांग्रेस उम्मेदवार महर निस्कलंक, बौद्धिक र परिचित व्यक्तित्व भएकाले जित सहज हुने पनि उहाँले बताउनुभयो ।

डडेल्धुरामा देउवाले पहिलो पटक २०४८ सालको आमनिर्वाचन जित्नुभएको थियो । त्यसयता उहाँले सात पटक निर्वाचन जित्नुभएको छ । सात पालिका र ५२ वडा रहेको डडेल्धुरामा कुल ९३ हजार ४०३ मतदाता रहेका छन् ।