प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १७ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सल्यानमा दुई अस्थायी मतदानस्थल र तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जिल्लाभित्र रहेका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा अस्थायी रूपमा बसोबास गर्ने मतदाताका लागि अस्थायी मतदान स्थल तोकिएको बताउनुभयो ।
उहाँका अनुसार जिल्ला कारागार सल्यानमा रहेका १९ जना कैदीबन्दीसहित अन्य गरी कुल तीन हजार तीन सय ५५ जना मतदाता अस्थायी मतदानमार्फत मतदानमा सहभागी हुने बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यान निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले निर्वाचन अधिकारी भण्डारीले जिल्ला सदरमुकाम खलंगामा रहेका अस्थायी मतदानस्थल तथा केन्द्रमा आवश्यक भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन तथा सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । मतदान कार्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी पूरा गरिएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा ११७ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा कुल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् ।
यस निर्वाचनमा १२ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा, सुरक्षा निकायसँग समन्वय तथा आवश्यक सामग्री व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।