गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको तयारीमा चलचित्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । नक्सालस्थित कान्तिपुर थिएटरमा निफले ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र सङ्गीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
निफका अध्यक्ष केपी पाठकका अनुसार महिला चलचित्रकर्मीले चलचित्र क्षेत्रमा भोग्नु परेको समस्या उजागर गर्न उक्त कार्यक्रम राखिएको हो । उहाँले भन्नुभयो, “पुरुष प्रधान भनिँदै आएको नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकले लिङ्गकै कारण कस्ता कस्ता समस्या भोग्ने रहेछन् भन्ने कुरा उनीहरूबाटै सुनाउन खोजिएको हो । उनीहरूको आवाज बहसमा विकास होस् भन्ने हाम्रो उद्देश्य हो ।”
कार्यक्रममा तीन निर्देशकले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको ‘अपमान’ र कठिनाइ सुनाउनुभएको थियो । सङ्गीता श्रेष्ठले महिला निर्देशकको बौद्धिकता र रचनात्मक क्षमताको कदर नभएको यथार्थ सुनाउनुभयो । उहाँले भन्नुभयो, “एउटा भिडियो वा चलचित्र तयार हुन्छ तर त्यसको जस महिला निर्देशकले पाउँदैनन् । ‘क्यामरा म्यानले खिचिदियो होला, सम्पादकले भिडियो तयार ग¥यो होला । त्यसले के भूमिका छ र ?” भन्ने कुरा सुनिन्छ । यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो ।”
महिला भएकै कारण आफूले छायाङ्कन स्थलमा निर्देशकको दर्जा नपाएको समुन्द्र भट्टले बताउनुभयो । महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो रहेको उहाँको भनाइ छ । त्यस्तै उषा रजकले भन्नुभयो, “महिला निर्देशकलाई बजारले पत्याउँदैन । लगानीकर्ता भेट्नै सकिँदैन ।” चलचित्र क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उहाँहरूको भनाइ छ । निफले यसअघि ‘द न्यु वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तर्क्रिया गराएको थियो, जहाँ युवा चलचित्रकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा सहजकर्ताका रूपमा सञ्चारकर्मी सन्ध्या थापा रहनुभएको थियो ।