• १६ फागुन २०८२, शनिबार

शास्त्रीय प्रमाणसहितको पात्रो आर्यवर्तपञ्चाङ्गम् बजारमा

blog

काठमाडौँ, फागुन १६ गते । शास्त्रीय प्रमाणसहतिको विविध उपयोगी विशेषतायुक्त पात्रो आर्यावर्तपञ्चाङ्गम् २०८३ प्रकाशित भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा दैनन्दिनी जीवनमा आइपर्ने विषयवस्तुलाई शास्त्रप्रमाणसहित प्रस्तुत गरिएको पञ्चाङ्गकार डा. नारायणप्रसाद निरौलाले बताउनुभएको छ ।

पञ्चाङ्गमा तिथि, नक्षत्र, योग वार करण, दैनिक सूर्योदय सूर्यास्त, दिनमान तारिखका साथै हरेक दिनका चाडपर्वको विस्तृत विवरण आर्यावर्तपञ्चाङ्गम् २०८३ मा समावेश गरिएका छन् । यसैगरी वार्षिक भविष्यफल, वार्षिक राशिफल, शनिसाढेसाती र शान्तिका उपाय, विवाह सम्बन्धी विचारणीय विषय, ज्योतिष एवं धर्मशास्त्रसम्बद्ध सङ्ख्याबद्ध विषयवस्तु जस्तो कि पञ्चतत्तव, सप्त द्विप, अष्टाङ्ग योग, एकादशरुद्र लगायतका एकदेखि ४९ अङ्कसम्मका विशेषताको शस्त्रीय सन्दर्भसहित पात्रोमा उललेख गरिएको छ । वेद वेदाङ्ग परिचय, पञ्चाङ्ग परिचय, ज्योतिष गणित, चिना बनाउने तरिका, नमूना जन्मपत्रिका अनि फलादेशका विषयवस्तुका साथै मलमाससम्बन्धी शास्त्रीय व्यवस्थाको सप्रमाण उल्लेख पञ्चाङ्गको पूर्वखण्डमा वर्णन  गरिएको छ ।

मूल पञ्चाङ्ग, ग्रह सञ्चार, ग्रहस्पष्टादि विवरण, दैनिक लग्न आरम्भ तालिका, ग्रह उदयास्त, वक्रमार्ग तालिका मूल खण्डमा समावेश गरिएको छ । सङ्क्रान्तिफल, वर्षभरिका व्रत पर्व महिमाका साथै दशमहादान, अष्टमहादान, पञ्चधेनुदानका तालिका र विधि पनि पात्रोमा पाउन सकिन्छ । अन्त्यकर्मसम्बन्धी कार्य पुस्तकको अभाव भएको समयमा पनि पात्रोको माध्यमबाट सम्पादन गर्न सकियोस् भन्ने उद्देश्यले यस्ता विषयवस्तु समावेश गरिएको पञ्चाङ्गकारले जनाउनुभएको छ ।

यसका साथै दैनन्दिनी व्यववहारमा आइपर्ने कार्य ऊन मासिक जुराउने रीति, मासिक गणना विधि, सूतिका मरण विधि, पञ्चक मरण विधि, द्वि–त्रिपुष्कर मरण विधिका साथै शान्तिका उपायको पनि उल्लेख पञ्चाङ्गमा गरिएको छ । जूठो सूतक कसलाई कति लाग्छ ? यसका बारेमा पनि पात्रो हेरेर शास्त्रीय प्रमाणसहित जान्न सकिन्छ । यसैगरी, श्राद्धसम्बद्ध विषयवस्तुलाई पनि शास्त्रीय प्रमाणसहित उल्लेख गरिइएको छ ।

वैदिक सूक्त, स्तोत्र मन्त्रको ज्ञानका साथै सामान्य पूजा विधि पनि पात्रो हेरेरै सम्पादन गर्न सकिन्छ । पञ्चगव्य निर्माण, कर्मपात्र सम्पादन, स्वस्तिवाचन, शङ्ख घण्टपूजा, प्रायश्चित्त गोदान, दीयो, कलश, गणेश पूजा, रक्षाबन्धन पूजा, वाग्दान विधि (विवाहको कुरो छिन्ने विधि) जन्मोत्सव, सत्यनारायण, लाखवत्ती, भ्रातृद्वितीया पूजा, नाग पूजा, गोदान, पूर्णिमा व्रत पूजा विधिलाई सचित्र पात्रोमा प्रस्तुत गरिएको छ ।

आभ्युदयिक वा नान्दी श्राद्ध कतिदिन पूर्व गर्न सकिन्छ ? मातृकापूजा चक्र, विभिन्न पूजाका सामग्री, सप्ताह एकाह पाठ गर्ने विधि, भूगोल वणएन, जम्बूद्वीप वर्णन सचित्र गरिएको छ । पुराणसम्बद्ध यावत् विषयवस्तु पात्रोबाट पाउन सकिन्छ । काय अनुसार अग्निका नाम, आरती, वास्तुसम्बन्धी शास्त्रीय प्रमाणसहितका विषयवस्तु, मुहूर्त सम्बन्धी विचार,  फलादेशका निम्ति उपयोगी चक्र, ग्रहण, अश्लेषा, मूल र ज्येष्ठा नक्षत्र गण्डान्त विचार, प्राच्य एवं आधुनिक मापन पद्धति, औँसीमा जन्म शान्ति विधि, कृष्णचतुर्दशी, ग्रहणमा जन्मशान्ति विधि, ग्रहशान्तिका विविध उपाय, विवाह व्रतबन्धको लग्न जुराउने तरिका, पुराणश्रवण, वास्तु, कलशचक्रलगायत जुराउने चक्र, गृहवास्तु पूजा चक्र, दन्तोत्पत्ति फल, यात्रा विचार, होरा, वारवेला लगायतका विभिन्न साइतको जानकारी पञ्चाङ्ग प्रयोग गरेर जान्न सकिन्छ ।

पञ्चाङ्गमा शास्त्रीय प्रमाणलाई मुख्य प्राथमिकतामा राखएको छ । धार्मिक कार्यको सम्पादन पात्रोको प्रयोगबाट सजिलै गर्न सकियोस् भनी यस्ता विषयवस्तु समावेश गरिएका छन् । पञ्चाङ्गको प्रकाशन सनातन ज्ञान विज्ञान केन्द्र काठमाडौँले गरेको हो । आर्यावर्तपञ्चाङ्गमका मूल पञ्चाङ्गसँगै गोजी पात्रो एवं भित्तेपात्रो पनि प्रकाशित छन् । आवरणसहित १२० पृष्ठमा  बृहत आकारमा पात्रो प्रकाशित भएको छ । शास्त्रीय प्रमाण र प्रयोक्ताका आवश्यकतालाई मध्यनजर गरी पात्रो तयार गरिएको कुरा पञ्चाङ्गकारले जनाउनुभएको छ ।