• १६ फागुन २०८२, शनिबार

ढुक्क भएर मतदान गर्न आग्रह

blog

निर्वाचन गतिविधिबारे जानकारी लिनुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्याल । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, फागुन १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा मजबुत रहेकाले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । स्वतन्त्रपूर्वक ढुक्क भएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो । 

निर्वाचन गतिविधिबारे जानकारी लिन शुक्रबार दोलखाको वैतेश्वर मिर्गेमा आएका गृहमन्त्री अर्यालले दल र मतदाताले निर्वाचनमा विशेष रुचि देखाएकाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न गराउन राज्य र सरकार लागिरहेको छ । सुरक्षा चुस्तदुरुस्त पारिएको छ । सोही अनुरूप जनशक्ति परिचालन गर्न लागिएको छ । मतदाताले स्वतन्त्रपूर्वक ढुक्क भएर मतदान गर्ने वातावरण बनेको छ ।” उहाँले थप्नुभयो, “सरकार कानुनबमोजिम अघि बढेको छ । निर्वाचनमा कानुनविपरीत काम गर्नेलाई कठोर कारबाही गर्न सरकार कटिबद्ध छ ।” उहाँले ढुक्क भएर मताधिकार प्रयोग गर्न  अपिल गर्दै सबैको साथसहयोगको अपेक्षा गर्नुभयो । 

सोही अवसरमा गृहमन्त्री अर्यालले मिर्गेमा स्थापित नेपाली सेनाको बेस क्याम्प अवलोकन गर्नुभयो । उहाँले उपस्थित सुरक्षाकर्मी र कर्मचारीलाई इमानदारीपूर्वक निर्वाचन सम्पन्न गराउन निर्देशन पनि दिनुभयो । सो क्रममा उहाँले वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाबाट गाउँपालिकाको निर्वाचन र मतदाताबारे जानकारी लिनुभयो । मन्त्री अर्यालका साथमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, प्रहरी महानिरीक्षक राजु अर्याल, रथी प्रदीपजङ्ग केसी, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले सहभागी हुनुहुन्थ्यो । 

जिल्लाका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपाले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्लास्थित प्रमुखको उपस्थिति थियो । 

तोकिएकै समयमा निर्वाचन

ओखलढुङ्गा समाचारदाताका अनुसार  गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ओखलढुङ्गामा आएर आसन्न निर्वाचनको तयारीबारे स्थलगत निरीक्षण तथा छलफल गर्नुभएको छ । 

निरीक्षण तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले तोकिएकै मितिमा निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरिने बताउनुभयो । उहाँले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सुरक्षाव्यवस्थामा कुनै कमी हुन नदिइने स्पष्ट पार्नुभयो । त्यसै गरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन नहुने भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो ।