• १६ फागुन २०८२, शनिबार

सिद्धज्योतिमा शास्त्री सम्झना

blog

काठमाडौँ, फागुन १६ गते । कविवर उमानाथ शास्त्री सिन्धुलीयको ४८ औँ स्मृति दिवस पारी सिन्धुलीमाढीस्थित सिद्धज्योति शिक्षा क्याम्पसमा शुक्रबार रचना वाचन सम्पन्न गरिएको छ ।

सिद्धज्योति शिक्षा क्याम्पसद्वारा आयोजित कार्यक्रममा पवन पाख्रिन, नन्दलाल श्रेष्ठ, लोकेन्द्र डहरे, बाबुराम श्रेष्ठ ‘निरूपम’, मैयाँ लामिछाने, बाबुराम फुयाँल, शम्भु गजुरेल, दुर्गादेवी ढकाल, भाइदाजु प्रज्वल, विश्वम्भर लामिछाने, भीमविक्रम थापालगायतले गजल, कविता, मुक्तक, हाइकू वाचन गर्नुभएको थियो । 

उमानाथ शास्त्री साहित्य प्रतिष्ठानको समन्वय तथा बुढौली साहित्य समाज र जर्बुटा कला सङ्ग्र्रहालयको सक्रियतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि निरञ्जना चन्द ‘निरू’, उमानाथ शास्त्री सिन्धुलीय साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद ढकाल, सिद्धज्योति शिक्षा क्याम्पसका क्याम्पस प्रमुख डा. नानीबाबु घिमिरेले साहित्यकार शास्त्रीको साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो । 

नेपाली साहित्यमा स्वर्गीय कवि उमानाथ शास्त्रीलाई धरोहरका रूपमा लिइन्छ । कवि उमानाथको मकवानी वाला (महाकाव्य), मधुर सपना (गीतिकाव्य), कमला परिचय (खण्डकाव्य), विधुवा विलापलगायत कृति प्रकाशित छन् । विसं १९८९ जेठ २३ गते महोत्तरीको जलेश्वरमा जन्मिनुभएका उमानाथ शास्त्रीको २०३४ साल फागुन १७ गते निधन भएको थियो ।