• १६ फागुन २०८२, शनिबार

वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण

blog

मृतदेह संरक्षण फ्रिज हस्तान्तरण गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ,(स्याङ्जा) फागुन १६ गते ।
स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले अस्पताललाई फ्रिज हस्तान्तरण गरेको हो । समितिले विभिन्न देशमा रहेका आफ्ना समितिहरुको सहकार्यमा फ्रिज हस्तान्तरण गरेको समितिका प्रवक्ता धर्मागत पराजुलीले जानकारी दिनुभयो । उहाँको अनुसार राष्ट्रिय समन्वय समिति तथा स्पेन, पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, बेलायत र नर्वेमा रहेका समिति तथा नेपालीहरुको सहयोग रहेको हो ।

वालिङ अस्पतालमा पहिलो सुविधायुक्त शव फ्रिज उपलव्ध भएको भन्दै अस्पतालका अध्यक्ष दिलिपप्रताप खांणले यसले समस्या परेको बेलामा राहत दिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “धेरै दिन सम्म शवलाई सरक्षित राख्ने शवगृह नहुँदा समस्या थियो अब केही हद सम्म भएपनि सहज हुने छ ।”

अस्पतालका प्रमुख डा. सुरज ढकालले तत्कालै पोष्टमार्टम गर्न नमिल्ने तथा बाहिरबाट परिवार आउनेहरुका लागि सजिलो हुने बताउनु भयो । सामान्य अवस्थामा एक/दुई दिन पनि शव राख्न समस्या हुने भन्दै डा. ढकालले अस्पतालका लागि अति आवश्यक रहेको जानकारी गराउनुभयो ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटी, वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्तराज श्रेष्ठ पूर्व अध्यक्ष टुकराज अर्याल लगायतले बोल्नु भएको थियो । समितिले चार लाख ५० हजार बराबरको दुई वटा शव राख्न मिल्ने एक थान फ्रिज उपलव्ध गराएको हो ।