• १६ फागुन २०८२, शनिबार

चीनको सहयोगप्रति आभार

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चीनका राजदूत चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल र छिमेकी राष्ट्र चीनबिचको सम्बन्ध भविष्यमा थप मजबुत र सुमधुर हुने औँल्याउनुभएको छ । नेपालका लागि नवनियुक्त चीनका राजदूत चाङ माओमिङले शुक्रबार शिष्टाचार भेट गर्ने क्रममा प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको, आउँदो निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले विकासका विभिन्न परियोजना र आयाममा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले राजदूत चाङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्दै दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्वपूर्ण भूमिकामा सफल हुने आशा राखेको बताउनुभयो ।

राजदूत चाङले मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै प्रधानमन्त्री कार्कीलाई बधाई दिनुभयो । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । राजदूत चाङले नेपाल सरकारको यस नीति र अडानका लागि चीनका जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो । 

भेटका क्रममा प्रधानमन्त्री कार्की र चीनका राजदूत चाङमले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष (घोडा वर्ष) का अवसरमा शुभकामना पनि आदानप्रदान गर्नुभएको थियो । संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति  अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिने प्रष्ट पार्नुभयो । एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उहाँले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

पाकिस्तानी राजदूतद्वारा शिष्टाचार भेट

शुक्रबार नै नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हासमीले पनि शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

भेटमा राजदूत हासमीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा शान्ति सुव्यवस्था पुनस्र्थापित भएको र अब निर्वाचन पनि शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन गइरहेको भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । प्रधानमन्त्री कार्कीले नेपालको लोकतान्त्रिक स्थायित्वका लागि पाकिस्तानबाट प्राप्त सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । बैठकपछि दुवै पक्षबाट नेपाल–पाकिस्तानको मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पु¥याउने गरी काम गर्ने विश्वास र प्रतिबद्धता व्यक्त भएको छ ।