गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । यही फागुन १८ गते उपत्यकालगायत पहाडी क्षेत्र र १९ गते तराई क्षेत्रमा धुमधामसहित मनाइने फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउने गरी सुरक्षा व्यवस्थान चुस्त राख्न प्रहरीले मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले होली पर्वको मौलिकता र सांस्कृतिक महत्वलाई असर नपर्ने गरी अन्य भड्किला प्रकृतिका गतिविधि गर्न नदिन, मादक पदार्थ बेचबिखन तथा सेवनमा र जबरजस्ती रङ लगाउने, पानी छ्याप्ने जस्ता गतिविधि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रहरी कार्यलयलाई परिपत्र गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले होलीको सांस्कृतिक तथा परम्परागत मौलिकताको जगेर्ना हुने गतिविधिलाई प्रोत्साहन गरी होलीको बहानमा हुने उच्छृङ्खल गतिविधि हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्थापनका लागि मातहतका सबै एकाइलाई निर्देशन गरिएको बताउनुभयो । काफ्लेले भन्नुभयो, “आसन्न निर्वाचनको ठिक अघि होली पर्व रहेकाले होलीको सांस्कृतिक महत्वलाई पनि असर नहुने र निर्वाचन सुरक्षालाई पनि असर नपर्ने गरी शान्तिपूर्ण रूपमा पर्व मनाउने गरी सुरक्षा व्यवस्था मिलाउन परिपत्र गरेका छौँ ।”
उहाँले विगतका होली पर्वमा जस्तै यसपालि मदिराको कारोबार तथा सेवन, साङ्गीतिक समारोहको आयोजना र ठुलो समूहमा जमघट गर्न नपाइने गरी स्थानीय निकायले जारी गरेको निर्देशिका कार्यान्वयन गरिने बताउनुभयो । फागुन १९ गते तराईका जिल्लामा होली पर्व मनाइने र फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले तराई क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ ।
होली पर्वको उत्सव मनाउने क्रममा पार्टी तथा उम्मेदवारको प्रचारप्रसार हुन सक्ने, चुनावी प्रचारमा प्रयोग हुने टोपी, टिसर्ट र झन्डाको दुरुपयोग नहोस् भनी विशेष सतर्कता अपनाउन भनिएको छ । आसन्न निर्वाचनको सुरक्षार्थ डेढ लाख निर्वाचन प्रहरीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रय अनुसन्धान विभागका झन्डै साढे तीन लाख सुरक्षाकर्मी परिचालन भइसकेकाले विगतको होलीमा भन्दा यस पटक सुरक्षा व्यवस्था थप प्रभावकारी हुने सुरक्षा निकायको ठहर छ । यसका लागि सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर आवश्यक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विशेष गरी नेपाल–भारतको सीमाक्षेत्रको सुरक्षामा विशेष कडाइ गरिने भएको छ ।