- मतदानको ७ दिनअघिदेखि मदिरा निषेध, हवाई यात्रुलाई विशेष सहजीकरण
- निर्वाचनकाे तयारी अन्तिम चरणमा, सीमा नाका ७२ घण्टा बन्द गरिने
काठमाडौँ, फागुन १५ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएकाे छ। आयोगका अनुसार मतपत्र, मतपेटिका र अन्य निर्वाचन सामग्रीहरू देशका ७७ वटै जिल्लामा पुर्याइसकिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले साताभरिका मुख्य कार्यहरूको संक्षिप्त विवरण सार्वजनिक गर्दै निर्वाचन सुरक्षा र व्यवस्थापनका सम्पूर्ण क्षेत्रमा आवश्यक निर्णय भइसकेको उल्लेख गर्नुभयो।
आचारसंहितामा कडाइ: जरिवाना र विभागीय कारबाही
उहाँले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले प्राप्त उजुरीहरूमाथि तीव्र गतिमा जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। हालसम्म प्राप्त २५४ उजुरीमध्ये ८८ वटामा स्पष्टीकरण सोधिएको र ५७ वटाको जवाफ प्राप्त भएको छ।
यसै क्रममा, आचारसंहिताविपरीत कार्य गरेको ठहर गर्दै जाजरकोट निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शक्तिबहादुर बस्नेत, रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) र श्रम संस्कृति पार्टीलाई जनही २५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय भएको आयोगले बताउनुभयो।
त्यसैगरी, बाँकेका उम्मेदवार खगेन्द्रसुनार र भक्तपुरकी उम्मेदवार जानुका पाठकलाई विवादास्पद अभिव्यक्ति र सामग्री प्रयोग नगर्न सचेत गराइएको छ। कर्मचारीहरूतर्फ ढोरपाटन सिकार आरक्षका प्रमुख रामदेव चौधरी र शिक्षक दीपनारायण ठाकुरलाई राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै विभागीय कारबाहीका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको धारणा व्यक्त गर्नुभयो।
सुरक्षा र यातायात व्यवस्थापन
आयोगका प्रवक्ता भट्टराईले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले हालसम्मको सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालेको चर्चा गर्नुभयो। फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू हुनेछ।
उहाँले निर्वाचनलाई निष्पक्ष बनाउन आयोगले नेपाल सरकारलाई देहायका सिफारिसहरू गरेको उल्लेख गर्नुभयो:
- नाका बन्द: निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिनेछ।
- मदिरा निषेध: मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मादक पदार्थ बिक्री-वितरण र सेवनमा प्रतिबन्ध लगाइनेछ।
- सवारी आवागमन: मतदानको दिन (फागुन २१ गते) अत्यावश्यक सेवा, कूटनीतिक निकाय र पास प्राप्त सवारी बाहेक अन्य निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइनेछ।
- हवाई सेवा: आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू यथावत रहनेछन्। विमानस्थल जाने वा फर्कने यात्रुले राहदानी र टिकटका आधारमा सवारी प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।
डिजिटल चुनौती र मतदाता शिक्षा
सूचना सदाचार प्रवर्धन एकाइले हालसम्म ६१२ वटा भ्रामक र टक्सिक सूचना पत्ता लगाएको आयोगले बताउनुभयो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको अध्ययनलाई उद्धृत गर्दै ५४ प्रतिशत हानिकारक सूचना कृत्रिम बौद्धिकता (एआई) बाट निर्मित ‘डिप फेक’ चित्र र भिडियो रहेको पाइएकोमा आयोगले गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
मतदातालाई शिक्षित पार्न देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडामा स्वयंसेवकहरू परिचालित भई नमूना मतपत्रको माध्यमबाट जानकारी दिने कार्य भइरहेको छ।
मतपत्र र मतदान केन्द्रको अवस्था
आयोगले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सम्पन्न भएको उल्लेख गर्नुभयो। त्यस्तै, १ लाख ८६ हजार ७४ अस्थायी मतदाताका लागि १४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
उहाँले मतदान गर्न जाँदा मतदाताले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात (मतदाता परिचयपत्र, नागरिकता, राहदानी वा जग्गाधनी पुर्जा आदिको सक्कलप्रति अनिवार्यरूपमा बोक्नुपर्ने आयोगले बताउनुभयो।