फडिन्द्र अधिकारी
पोखरा, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ।
नेपाली कांग्रेस, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले वि.सं. २०४६ पछि सरकारमा गएका सबै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरिने उल्लेख गर्नुभयो। “यो निर्वाचनबाट कांग्रेस नेतृत्वमा सरकार बनेमा पहिलो निर्णय नै शक्तिशाली छानबिन आयोग गठन हुनेछ,” उहाँले भन्नुभयो, “त्यस्तो आयोगले २०४६ पछि जिम्मेवारीमा रहेका सबैको सम्पत्ति छानबिन गर्नेछ। सुरुआत हाम्रै नेता शेरबहादुर देउवा र मन्त्री भइसकेको गगन थापाबाट हुनेछ।”
सभापति थापाले कसैलाई पनि कानुनभन्दा माथि नराखिने बताउँदै दोषी देखिए जोसुकैलाई पनि कारबाही हुने दाबी गर्नुभयो। उहाँले निर्वाचनले अतिवादलाई पक्षपोषण गर्न सक्ने औँल्याउँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभयो। “मुलुकले अब कुनै पनि किसिमको द्वन्द्व थेग्न सक्दैन, सबैलाई मिलाएर लैजानु नै अहिलेको आवश्यकता हो,” उहाँले थप्नुभयो।
आवश्यक नीति र नियम तर्जुमा गरी शिक्षा, स्वास्थ्य तथा रोजगारीमा क्रान्तिकारी परिवर्तन ल्याउने अठोट गर्दै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान सञ्चालन गरी पर्यटनमार्फत समृद्धि हासिल गर्ने योजना सुनाउनुभयो। उहाँले नयाँ र पुराना सबै दललाई साथै लिएर संविधान संशोधन र विकासका काम अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले कार्यकर्ताहरूलाई आफैँ उम्मेदवार हुँ भन्ने भावनाका साथ चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो। उहाँले नागरिकको मनोबल उच्च बनाउने र मुलुकलाई निकास दिने शक्ति कांग्रेससँग मात्र भएको जिकिर गर्नुभयो।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको सभापतित्वमा भएको सो कार्यक्रममा सहसचिव नवीन सिग्देल, उम्मेदवारहरू आईबहादुर गुरुङ, तिलक रानाभाट, माधवप्रसाद बास्तोला र मनोज गुरुङलगायतले सम्बोधन गर्नुभएको थियो।