• १५ फागुन २०८२, शुक्रबार

निर्वाचन रिपोर्टिङ तथ्यपरक बनाउन पत्रकार अभिमुखीकरण

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन १५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पत्रकारको भूमिकालाई सुदृढ गर्ने उद्देश्यले सल्यान खलङ्गामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन कार्यालय सल्यानद्वारा आयोजित कार्यक्रममा जिल्लास्थित क्रियाशील पत्रकारहरूलाई निर्वाचन आचारसंहिता, पत्रकार आचारसंहिता तथा तथ्यपरक र सन्तुलित रिपोर्टिङसम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगी ले निर्वाचन सफल बनाउन पत्रकारहरूको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उहाँले मिथ्या सूचनाबाट जोगिँदै मतदातालाई मतदान प्रक्रियाबारे सही सूचना दिन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो । निर्वाचनअघि आयोजना गरिएको यस्ता कार्यक्रमले पत्रकारमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटा ले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने बताउँदै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। “स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचनलाई सुदृढ बनाउन सक्छ,” उहाँले भन्नुभयो।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली राज रावत ले पत्रकार महासंघको आचारसंहितासँगै निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकारी धिरेन्द्र बहादुर भण्डारी ले हालसम्म जिल्लामा भएका निर्वाचनसम्बन्धी तयारीबारे जानकारी गराउनुभयो । यस्तै सूचना अधिकारी तेजेन्द्र कुमार चन्द ले एकीकृत सूचना प्रणाली र निर्वाचन आयोगको अपेक्षाबारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा पत्रकारहरूले आ–आफ्ना जिज्ञासा राखेका थिए ।

तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको सल्यानमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा कुल एक लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन्। तीमध्ये ८३ हजार ३ सय २१ पुरुष र ७९ हजार १ सय २८ महिला मतदाता छन् । 

प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लाभर १ सय १७ मतदानस्थल र २ सय ५ मतदान केन्द्र तोकिएका छन् ।

लेखक बाट थप