नवराज नेपाली
बागलुङ, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई आफैँलाई उम्मेदवार ठानेर आम नागरिकसँग मत माग्न आग्रह गर्नुभएको छ।
बागलुङ बजारमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले उम्मेदवार एक्लैको मेहनतले मात्र निर्वाचन जित्न कठिन हुने बताउनुभयो। उहाँले भन्नुभयो, “यहाँका उम्मेदवारले यहीँ मेहनत गरिरहनुभएको छ, तर उम्मेदवार एक्लै मात्र दौडिएर हुँदैन। तपाईं प्रत्येक कार्यकर्ता आफैँ उम्मेदवार बनिदिनुपर्छ र घर–घरमा पुगेर म नै उम्मेदवार हुँ भन्न सक्नुपर्छ।”
सभापति थापाले नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर विश्वास दिलाउन निर्देशन दिनुभयो। “तपाईंले भनिदिनुपर्छ– म गगन थापा भएर तपाईंको घरमा मत माग्न आएको छु। हामीलाई पाँच वर्ष काम गर्ने मौका दिनुस्, देशलाई कुनै पनि हालतमा निराश बनाउँदैनौँ,” थापाले थप्नुभयो।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ द्वारा आयोजित सो चुनावी सभामा बागलुङका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारको उपस्थिति रहेको थियो। सभामा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।