• १५ फागुन २०८२, शुक्रबार

‘बर्दघाट एसएमई भिलेज समुन्नतिको आधार बन्ने’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १५ गते । बर्दघाट एसएमई भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताले गरेका छन् । नेपाल उद्योग परिसङ्घको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ बर्दघाट र नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहआयोजनामा नवलपरासीको बर्दघाटमा आयोजित अन्तर्क्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन् ।

परिसङ्घका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले बर्दघाट एसएमई ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवर्धन गर्न सकिने बताउनुभयो ।  

नेपाल सरकारका पूर्वसचिव अर्जुन पोखरेलले ‘एक पालिका एक औद्योगिक ग्राम’ अवधारणा अनुसार बर्दघाट एसएमई भिलेज अगाडि बढाइएको बताउनुभयो । उहाँले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोगबिना औद्योगिक ग्राम सफल हुन नसक्ने भन्नुहुँदै ग्रामलाई सफल बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो ।  

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकीकरणमा टेवा दिने बताउनुभयो । उहाँले गोल्छा गु्रप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको समेत बताउनुभयो । उहाँले उद्योग ग्राम बनेपछि धेरै सङ्ख्यामा उद्योग सञ्चालनमा आउने विश्वास गर्नुभयो । उहाँले एक सय अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुन अनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान घटेर पाँच प्रतिशतमा आइसकेको भन्दै उद्योगको योगदान कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न सफल भएको बताउनुभयो । बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगको प्रवर्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताउनुभयो । 

उद्योग व्यापार सङ्घ बर्दघाटका उपाध्यक्ष लीलाहरि पौडेलले बर्दघाटको भौगोलिक पहुँच उद्योग स्थापनाका लागि महत्वपूर्ण रहेको बताउनुभयो । भारतसँगको सिमाना नजिक रहेकाले कच्चा पदार्थ आयात तथा उत्पादित वस्तु निर्यातमा सहजता रहेको उहाँले बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले यस क्षेत्र रुपन्देहीसँग नजिक रहेको, सडक पूर्वाधार, विद्युत्लगायतका पूर्वाधारका कारण नयाँ उद्योग सञ्चालन गर्न सहज हुने बताउनुभयो । 

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटनसँगै ठुला उद्योगका लागि राम्रो सम्भावना देखिएको बताउनुभयो । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजूले देशमै केही गर्छु भनेर युवाले उद्यम गरिरहेको भन्दै यस्ता उद्यमी युवालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।