• १५ फागुन २०८२, शुक्रबार

उम्मेदवारीमा ४०–४९ उमेरकै वर्चस्व

blog

  • प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवार तीन हजार १७ र महिला उम्मेदवार ३८८ तथा अन्य समूहबाट एक जना उम्मेदवार छन् । 
  • समानुपातिकमा तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा पुरुष एक हजार ७७२ र महिला उम्मेदवार एक हजार ३६३ जना छन् । 

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १५ गते । प्रतिनिधि सभाका २७५ सदस्यका लागि फागुन २१ गते निर्वाचन सम्पन्न हुँदै छ । २०७९ को निर्वाचनबाट गठित प्रतिनिधि सभा भदौ २३ र २४ को आन्दोलनपछि विघटन भएसँगै नयाँ निर्वाचन हुँदै छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने छन् । प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फ गरी कुल छ हजार ५४१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २७५ जना फागुन २१ को निर्वाचनबाट निर्वाचित हुने छन् । 

निर्वाचनमा प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दल चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दल रहेका छन् । चुनावमा प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवार तीन हजार १७ र महिला उम्मेदवार ३८८ तथा अन्य समूहबाट एक उम्मेदवार छन् । समानुपातिकमा तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा पुरुष एक हजार ७७२ र महिला उम्मेदवार एक हजार ३६३ जना रहेका छन् । 


दुवै निर्वाचन प्रणालीतर्फ ४० देखि ४९ वर्ष समूहका सबैभन्दा बढी उम्मेदवार छन् । प्रत्यक्षमा ३० वर्षमुनिका उम्मेदवार २०१ छन् । ३० देखि ३९ वर्ष समूहका उम्मेदवार ७४९ रहेका छन् । ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ७७ जना छन् । ५० देखि ५९ वर्ष समूहका उम्मेदवार ८९४ जना प्रतिस्पर्धामा छन् । ६० देखि ६९ वर्ष समूहका उम्मेदवार ३९५ जना प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा छन् । ७० वर्षदेखि ७९ वर्ष समूूहका ८३ जना र ८० वर्षमाथिका ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

समानुपातिकमा पनि ४०–४९ उमेर समूहकै उम्मेदवारको वर्चस्व छ । समानुपातिकमा ३० वर्षमुनिका उम्मेदवार १६८ जना रहेका छन् । ३० देखि ३९ वर्ष उमेर समूहका उम्मेदवार ६८६ जना रहेका छन् । ४० देखि ४९ वर्ष उमेर समूहका उम्मेदवार ९९१ जना रहेका छन् । 

 ५० देखि ५९ वर्ष उमेर समूहका ७४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ६० देखि ६९ उमेर समूहका ४१९ जना, ७० देखि ७९ उमेर समूहका ११८ जना र ८० वर्षमाथिका १२ उम्मेदवार रहेका छन् । 

कुल उम्मेदवारमध्ये झन्डै ३१ प्रतिशत खसआर्य समुदायका छन् । ३४ दशमलव ५० प्रतिशत खसआर्यका उम्मेदवार छन् । आदिवासी जनजाति उम्मेदवार सङ्ख्या २७ दशमलव ३० प्रतिशत, मधेशी २४ दशमलव ८७ प्रतिशत उम्मेदवार रहेका छन् । दलित उम्मेदवार ६ दशमलव ७५ प्रतिशत रहेका छन् । मुस्लिम ३ दशमलव ९९ र थारू उम्मेदवार २ दशमलव ५८ प्रतिशत रहेका छन् । 

आसन्न निर्वाचनमा कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ रहेका छन् । जसमध्ये पुरुष ९६ लाख ६३ हजार ३५८ र महिला ९२ लाख ४० हजार १३१ छन् । निर्वाचनका लागि १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।