• ७ फागुन २०८२, बिहिबार

मनाङमा चुनावी सरगर्मी शून्य

blog

यदुप्रसाद भट्ट

मनाङ, फागुन ७ गते । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा निर्वाचन नजिकिँदै जाँदा पनि चुनावी चहलपहल देखिएको छैन । करिब सात हजार मतदाता रहेको जिल्लामा सुरुमा पाँच जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि अन्ततः तीन जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीकी यशोदा गुरुङ सुवेदी र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले प्रतिस्पर्धामा हुनुहुन्छ । यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टीका कुविर सिंह गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी)का पोल्देन छोपाङ गुरुङले कांग्रेसका उम्मेदवार गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो । मुख्य दलको समर्थन पाएसँगै कांग्रेसले जित नजिक रहेको दाबी गरेको छ  ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार जिल्लामा अहिलेसम्म चुनावी प्रचारप्रसारका लागि कुनै उम्मेदवार प्रवेश गरेका छैनन् । “चहलपहल केही छैन, कार्यतालिका अनुसार हाम्रो काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । उहाँले मतदाता आवतजावत गर्ने बाटो सफा गर्ने काम भइरहेको जानकारी दिनुभयो । नार्पाभूमि गाउँपालिका सडक सञ्जालबाट अझै जोडिएको छैन । चामे, नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा मात्रै सवारी साधन सञ्चालनमा छन् । मतदाता हिँड्ने बाटो खुलेपछि मात्रै विस्तारै निर्वाचनको माहोल बन्ने उहाँले बताउनुभयो ।

अत्यधिक चिसोका कारण नार्पाभूमि–२, मेताको बाटोमा रहेको ‘एयरपोर्ट झरना’ जमेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायका १५ जनाको संयुक्त टोली आवश्यक बन्दोबस्ती सामग्रीसहित उक्त स्थानमा खटाइएको प्रजिअ पौड्यालले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा छ । “विकट भूगोलका कारण बाटो खुलेपछि मात्रै प्रभावकारी काम हुन्छ,” उहाँले भन्नुभयो । धेरै मतदाता काठमाडौँमै रहेकाले उतै पनि मतदाता शिक्षा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले बताउनुभयो ।

चिसो मौसमका कारण अधिकांश मनाङी सहरमा बस्दै आएका छन् । गाउँघर सुनसान छ । चैत लागेपछि मात्र गाउँ फर्किने तयारीमा रहेका मतदाता यसपालि मतदानकै बेला गाउँ जाने योजना बनाइरहेका छन् । 

मतदान पश्चात गाउँमै बस्ने सोचका कारण उनीहरु ढिलो गरी फर्किन लागेका हुन् । दलहरू पनि जनताबिना घरदैलो अभियान प्रभावकारी बनाउन नसक्ने अवस्थामै छन् ।