नन्द सिंह
रलिङ (हुम्ला), फागुन ६ गते । दुई सातादेखि बन्द रहेको जिल्ला अस्पताल हुम्लाको एक्सरे सेवा पुनः सञ्चालनमा आएको छ । गत माघ महिनाको २० गतेदेखि बन्द रहेको उक्त एक्सरे सेवा फागुन ६ गतेबाट सञ्चालनमा आएको हो ।
यसअघि अस्पतालमा पुगेका स्थानीय नागरिक रित्तो हातमा फर्कनु परेको भए पनि जिल्ला बाहिरबाट एक्सरे मेसिन हुम्ला आइ पुगेपछि यहाँका सेवाग्राहीले सहज रुपमा सेवा पाएका छन् ।
गत माघ २८ गते गोरखापत्रमा समाचार प्रकाशन भएपछि जिल्ला अस्पताल हुम्लाले तत्काल एक्सरे मेसिनको बन्दोबस्त गरी सेवा प्रवाह सहज गरेको छ । दुई हप्ताअघि एक्सरेको क्यासेट बिग्रिएपछि करिब दुई साता सेवाग्राही एक्सरे सेवाबाट बञ्चित भएका थिए ।
दैनिक १० देखि १५ जना सेवाग्राही एक्सरे सेवा नहुँदा फर्किनु परेको स्थानीयले गुनासो गरेका थिए । पुरानो एक्सरे मर्मत गर्न तीनदेखि चार लाखसम्म रुपियाँ खर्च लाग्ने भएकाले जिल्ला अस्पताल हुम्लाले उक्त मेसिन निक्स साइमन्स इन्स्टिच्युट ललितपुरलाई अनुरोध गरेको थियो ।
अस्पतालको अनुरोधपछि उक्त इन्स्टिच्युटले २ लाख १५ हजार बराबरको एक्सरे निःशुल्क रुपमा सहयोग गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुव्वा मणिकृष्ण जैसीले बताउनुभयो ।