• ६ फागुन २०८२, बुधबार

कोहलपुरमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन ६ गते । बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सञ्चालन हुने भएको छ । 

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसर पारेर ७ गते बिहीबारबाट कोहलपुरको खुलामञ्चमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजकले बुधबार कोहलपुरको खुलामञ्चमा गरेको पत्रकार सम्मेलनमार्फत् फागुन ७ गतेदेखि ११ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।

कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा भलिबल टिम प्रतिस्पर्धा गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले क्रिकेटका खेलाडी उत्पादन र खेलका माध्यमबाट कोहलपुर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भइसकेको भन्दै अब भलिबलबाट पनि कोहलपुरलाई पहिचान दिलाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

“कोहलपुरले यसअघि नै क्रिकेटका खेलाडी उत्पादन गर्ने र क्रिकेट खेलमार्फत आफ्नो पहिचान स्थापित गरिसकेको छ, अब भलिबलमार्फत पनि कोहलपुरलाई चिनाउन आवश्यक छ ।”

उहाँले भन्नुभयो, “स्थानीय भलिबलका खेलाडी उत्पादन गर्ने, कोहलपुरलाई भलिबलका माध्यमबाट चिनाउने, कोहलपुरलाई खेलकुद पर्यटन सहर बनाउने लक्ष्यसहित यो प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ ।”

संयोजक चिमालाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको र विस्तारै प्रदेश तथा सङ्घस्तरीय प्रतियोगिता पनि आयोजना गरेर भलिबल खेल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म अझै बढी चिनाउने उद्देश्य राखिएको पनि उल्लेख गर्नुभयो ।

प्रतियोगिताका संयोजक निर्मल विष्टले प्रतियोगिताका सम्पूर्ण खेलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमानुसार खेलाइने जानकारी दिनुभयो । उहाँले टिम सङ्ख्याको आधारमा नकआउट वा लिग कम नकआउटको आधारमा खेलाइने उल्लेख गर्नुभयो । 

उहाँका अनुसार प्रथम हुने टिमलाई नगद ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी द्वितीय टिमलाई ३० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । त्यसैगरी व्यक्तिगत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि ब्राइट लाइट एकेडेमी कोहलपुर, बैजनाथ गाउँपालिका, गीतापुर भलिबल क्लब कोहलपुर, भेरी प्राविधिक शिक्षालय नेपालगन्ज, रोयल ढकेरी राप्तीसोनारी, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, ट्री गार्डेन रिसोर्ट बैजनाथ, राप्तीसोनारी भलिबल क्लब राप्तीसोनारी, ग्रीन पिस सेकेन्डेरी स्कुल कोहलपुर, नमुना विद्या सदन कोहलपुर, जन ज्ञान ज्योति मावि कोहलपुर, काहेलपुर नगरपालिका कर्मचारी र खजुरा गाउँपालिका गरी जम्मा १३ वटा टिमले नाम दर्ता गराएका छन् ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन एवम् व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।