रामकृष्ण बोहरा
बागलुङ, फागुन ६ गते । जोखिम समूह पहिचान गरेर युवा र किसोर अवस्थाका नागरिकको उपचारमा ध्यान दिन सकेमा आत्महत्या घटाउन सकिने सरोकारवालाले बताउनुभएको छ ।
मानसिक समस्या बढ्दै जाँदा आत्महत्यासम्म पुग्ने गरेको तथ्यलाई ध्यान दिँदै आगामी दिनका उपचारहरु केन्द्रीत हुनुपर्ने उहाँहरुको सुझाव छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको ‘मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथाम’ विषयक अन्तरक्रियामा सरोकारवालाले लक्षित वर्गलाई समयमा चिन्न सकेमा आत्महत्याको दर घटाउन सकिने बताउनुभयो ।
बागलुङ नगरपालिकाले २० जनाबढी मनोपरामर्शकर्ता उत्पादन गरेको छ । ‘‘अब हरेक समाजमा मनोसामाजिक परामर्शकर्ता चाहिएको छ’’ शर्माले भन्नुभयो, ‘घरपरिवारका सदस्यलाई सही सूचना दिने र उनीहरुलाई सचेत बनाउँदा परिवारका सदस्य सुरक्षित बन्छन् ।’’
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले मानसिक समस्या बढ्दो अवस्था रहेकाले युवा तथा किसोर समूहको वास्तविक आवश्यकताको खोजी गर्ने र समस्या समाधानमा सबैको चासो बढाउनुपर्ने बताउनुभयो ।
‘‘मानसिक समस्यामा रहेका नागरिकलाई उपचारमा ल्याउन सकेमा आत्महत्या दर घटाउन सकिन्छ’’ शर्माले भन्नुभयो । स्वाथ्यकर्मी, प्रहरी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीको पहलले आत्महत्या न्युनीकरण गर्न सकिने र अन्य हिंसाका गतिविधि पनि पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी बागलुङका प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार, आत्महत्या गर्नेहरु कतिपय हिंसामा परेका, आर्थिक, सामाजिक र मानसिक पीडा भोगेकाहरु हुने गरेका छन् ।
उनीहरुले मानसिक समस्या भई आत्महत्यासम्म रोज्नेगरेका हुन् । गत आर्थिक वर्षमा ५६ जनाले झुण्डीएर आत्महत्या गर्दा २ जनाले बिष सेवन गरेका र ४ जना हामफालेर आत्महत्या गरेका थिए । चालु वर्ष २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
घरेलु हिंसा, सामाजिक दबाव, एक्लोपन, दीर्घरोगी, बेरोजगारीजस्ता समस्याले आत्महत्याको बाटो रोज्ने गरेको अध्ययनले देखाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रदेश जनस्वास्थ्य कार्यालयले आगामी दिनमा उपचार पद्धतिभन्दा मानसिक रोग लाग्नै नदिनेतर्फ स्वास्थ्य सेवा प्रवाह गर्ने योजना बनाएको छ । संवेदनशील विषयको रिपोर्टिङमा सञ्चारकर्मीले सकारात्मक सन्देश प्रवाह गर्न सकेमा आत्महत्या न्युनीकरण गर्न सकिने शर्माको भनाइ थियो ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत समिता घिमिरेले मानसिक स्वास्थ्य प्रवर्धन र आत्महत्या रोकथाम गर्न सञ्चार क्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले बागलुङका पत्रकारले आत्महत्याका समाचारमा चासो नराखेको, मानसिक रोगको उपचार र सफलताका विषयमा लेखन बढाउने बताउनुभयो ।
आचार्यले नकारात्मक सन्देश फैलाउने काममा महासंघ गम्भीर रुपमा लाग्दै न्युनीकरणको काममा सक्रिय रहने बताउनुभयो । धौलागिरि प्रादेशिक अस्पतालका डा. सरोजकुमार पञ्जियारले मानसिक बिरामीको उपचार गर्दा जोखिम उमेर समूह हेर्ने, घरेलु हिंसा, सामाजिक दबाव, एक्लोपन, परनिर्भर र बेरोजगारीजस्ता समस्याले पारेका असरबारे खोजी गरेर मनोसामाजिक परामर्श गराइएको बताउनुभयो ।
अस्पतालमा आधारिक एकद्वार संकट व्यवस्थापन केन्द्रले पनि ती विषयलाई सम्बोधन गरेर उपचार गराएको उहाँको भनाइ छ ।