कास्की, फागुन ६ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।
उद्यानमा धम्पुस–ब्रेकन भगिनी सम्बन्ध स्थापनाको स्मारक राखिएको छ । ढुङ्गैढुङ्गाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृङ्खला तथा हेम्जा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।
धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो । उद्यान निर्माणका लागि समाजको २६ लाख रुपियाँ र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी ४० लाख रुपियाँ खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुसीमान गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धम्पुस आफैँमा पर्यटकीय गाउँ हो । यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ ।” धम्पुस र बेलायतको ब्रेकन सहरबिचको भगिनी सम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ । सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो । धम्पुसबाट उत्तरतर्फ आँखैअगाडि देखिने हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ । उद्यान निर्माणपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको माछापुच्छ«े–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ । यसबाट ग्रामीण पर्यटन प्रवर्र्धन हुने छ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई पनि थप प्रगाढ बनाउने छ ।”
पोखरादेखि २० किमी दुरीमा धम्पुसगाउँ पुगिन्छ । पोखरा–बागलुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ । धम्पुस विश्वप्रख्यात मर्दी हिमाल पदयात्राको प्रवेशद्वार पनि हो । धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्छन् ।