गोरखापत्र अनलाइन
काभ्रे, फागुन ५ गते। नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं १ का उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्दै आफ्नो विकास योजना प्रस्तुत गर्नुभएको छ । लामाले खानीखोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले डाँडापारीलाई नेपालकै नमुना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने आफ्नो “ड्रिम प्रोजेक्ट” सार्वजनिक गर्दै परियोजना सफल पार्न जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। लामाका अनुसार परियोजना सुरु भएपछि गाउँमै रोजगारका अवसर सिर्जना हुने र युवा विदेश जान नपर्ने बताउनुभयो ।
घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलिप लामा, राकेश लामा, चन्द्र लामा, र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायतको सहभागिता थियो।
यसैबिच, महाभारत गाउँपालिका –८ घर्तिछापमा आयोजित कार्यक्रममा घनश्याम आले लगायतले एमाले प्रवेश गर्नुभयो । आले पहिले एमाले विभाजनअघि क्षेत्रीय कमिटी उप–सचिव हुनुहुन्थ्यो । पछि समाजवादी पार्टीमा जानुभएको थियो । प्रवेश गर्ने अन्य नेता–कार्यकर्ताहरूमा कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइवा, जित बहादुर सिंतानेश, नेत्रबहादुर दर्लानी, सुरेश थिङ रहेका छन्।
महाभारत गाउँपालिका –२ बाट पनि धनकाजी मोक्तान, मानबहादुर घिसिङ, धनबहादुर घिसिङ एमाले प्रवेश गर्नुभयो । पार्टी प्रवेशको यो लहरले एमालेलाई उत्साहित बनाएको नेताहरुले बताउनुभएको छ।