• ३ फागुन २०८२, आइतबार

दोहोरिने दाउमा बैरागी, रोक्ने कसरतमा तीन दल

blog

फणिन्द्र अधिकारी

लेखनाथ, फागुन ३ गते । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा तीन निर्वाचन क्षेत्र छन् । कास्की निर्वाचन क्षेत्र नं. ३ मा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका सबै भूभागसहित पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यो क्षेत्रमा वि.सं. २०७४ र २०७९ का दुवै निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए । गत निर्वाचनमा विजयी एमालेका दामोदर पौडेल (बैरागी) यसपालि पनि सांसद दोहोरिने दाउमा हुनुहुन्छ भने उहाँलाई नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौती दिने देखिएको छ ।

कास्की–३ मा यसपालि नेपाली कांग्रेसबाट मनोज गुरुङ, एमालेबाट दामोदर पौडेल, रास्वपाबाट बिना गुरुङ र नेकपाबाट गोपाल गिरीबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । १५ जना उम्मेदवार रहेको यो क्षेत्रमा एक लाख सात हजार ५६० मतदाता छन् । मनोज गुरुङ नेपाली कांग्रेसको तरुण दल हुँदै राजनीतिमा क्रियाशील नेता हुनुहुन्छ । निवर्तमान सांसद पौडेल भने आफ्नो कार्यकाल पूरा गर्न नपाएकाले अधुरा काम पूरा गर्न पुनः मत मागिरहनुभएको छ ।

नेकपाका उम्मेदवार गिरी निवृत्त शिक्षक हुनुहुन्छ । स्थानीय समस्यालाई नजिकबाट देखेकाले आफूसँग समाधानका उपाय भएको उहाँको जिकिर छ । रास्वपा उम्मेदवार बिना गुरुङ सामाजिक कार्यकर्ता हुनुहुन्छ । सामाजिक सेवा र व्यवसायलाई सँगसँगै अघि बढाएको अनुभवका आधारमा अहिलेका चुनौती चिर्ने नेतृत्व क्षमता आफूसँग रहेको उहाँको दाबी छ ।

कास्कीमा पहिले तीन क्षेत्र रहेकोमा संविधानसभा निर्वाचनका बेला चार क्षेत्र कायम गरिएको थियो । नयाँ संविधान जारी भएपछि कास्कीमा फेरि तीन निर्वाचन क्षेत्र नै बनाइयो । हालको भूगोलअनुसार भएका दुवै निर्वाचनमा यहाँ एमाले विजयी भएको इतिहास छ । २०७४ को निर्वाचनमा एमालेका जगतबहादुर सुनारले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गर्नुभएको थियो । त्यस बेला एमाले र साविक नेकपा (माओवादी केन्द्र) बिच चुनावी तालमेल भएको थियो ।

२०७९ को निर्वाचनमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बराललाई हराएर एमालेका दामोदर पौडेल चुनिनुभएको थियो । गठबन्धन हुँदा पनि जित हात पारेको क्षेत्रमा एमाले आफ्नो विरासत जोगाउने ध्याउन्नमा छ भने अन्य तीन दल नयाँ इतिहास बनाउने प्रयत्नमा छन् ।

यो क्षेत्रमा कास्कीका मुख्य पर्यटकीय स्थलहरू पर्छन् । विश्वविख्यात अन्नपूर्ण आधार शिविरदेखि लेकसाइडसम्म यही क्षेत्रमा पर्दछन् । ग्रामीण भेगका जनता सहरी पूर्वाधारको माग गर्छन् भने सहरका नागरिक व्यवस्थित सहरी संरचनाको अपेक्षामा छन् । मतदाताले उम्मेदवारहरूसँग बाँदर नियन्त्रण, कृषि विकास, पूर्वाधार निर्माण र जलवायु सङ्कटको समाधानदेखि फेवाताल संरक्षणसम्मको प्रतिबद्धता खोजेका छन् ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङ अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा जलवायु परिवर्तनले सङ्कट थप्दै गएकाले त्यसलाई सम्बोधन गर्ने नीति दलहरूले लिनुपर्नेमा जोड दिनुहुन्छ । पोखरा–६, लेकसाइडका बासिन्दा गोविन्दराज पहारी यथार्थपरक र ठोस योजनासहितको विकासको प्रतिबद्धता आवश्यक रहेको बताउनुहुन्छ । पुराना पर्यटन व्यवसायीसमेत रहनुभएका पहारी निर्वाचनका बेला दिइने आश्वासन कार्यान्वयन नहुँदा मतदातामा निराशा बढेको गुनासो गर्नुहुन्छ ।