बिष्णुप्रसाद पोखरेल
दमक, फागुन ३ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।
विश्वव्यापी रूपमा उस्तै प्रकारले अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपालसमेत परेको उहाँको भनाइ छ । आइतबार झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जनअसन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देश अप्ठ्यारो परिस्थितिमा पुगेको बताउनुभयो । बंगालादेशपछि नेपालमा पनि उस्तै प्रकारले आन्दोलन गरिएको स्मरण गर्नुभयो ।
शिक्षक आन्दोलनमा समेत धुसपैठ हुने आशंका रहेको उल्लेख गर्दै समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको अध्यक्ष ओलीले दाबी गर्नुभयो । आन्दोलन केही दिन लम्बिएको भए त्यहाँ पनि घुसपैठ हुन सक्थ्यो, ओलीले भन्नुभयो ।
शिक्षकहरूको समस्या समाधानका लागि आफूले पटक–पटक शिक्षक संघ–संगठनका प्रतिनिधिहरूलाई संवादका लागि बोलाएको स्मरण गर्दै उहाँले वार्ता र समझदारीमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षकको समस्या सामधान गर्न म र मेरो पार्टी सधै लागेको छ, ओलीले स्पष्ट पार्नुभयो ।
झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले देशलाई अस्थिर बनाउने कुनै पनि गतिविधिविरुद्ध सजग रहन आग्रह गर्दै लोकतान्त्रिक प्रणालीभित्र रहेर असन्तोष व्यक्त गर्न सबै पक्षलाई अपिल गर्नुभयो । कुनै असन्तोष भए त्यो छलफल गरेर सामधान गर्नतर्फ लाग्नुपर्छ, उहाँले भन्नुभयो ।
अध्यक्ष ओली निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा सहभागी हुन आइतवार झापा आउनुभएको हो । उहाँ केही दिन झापामा मतदाताहरुसँग घरदैलो कार्यक्रममा ब्यस्त रहने ओलीको सचिवालयले जनाएको छ ।