• २ फागुन २०८२, शनिबार

करदाता सेवा कार्यालयको सामान सार्न खोजेपछि व्यापारीको अवरोध

blog

उद्योगी, व्यवसायीको विरोधपछि करदाता सेवा कार्यालयको सामान ट्रकबाट अनलोड गरिँदै । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
रौतहट, फागुन २ गते ।
रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालयको सामान सार्न खोजेपछि शुक्रबार गौर बजार तनावग्रस्त बनेको छ । करदाता सेवा कार्यालय गौरमा रहेको सामान तथा करदाताको फाइल गौरबाट आन्तरिक राजस्व कार्यालय सिमरा, बारामा सार्न खोजेको भन्दै उद्योगी, व्यापारी आन्दोलित भएका हुन् । ट्रकमा लोड भइ सकेको सामान उद्योगी, व्यापारीले अनलोड गर्न लगाएको रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केशरीले जानकारी दिनुभयो । रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा गौर बजार बन्द गरिएको छ ।

घन्टाघर चोक, गौरमा उद्योगी, व्यापारीले टायर बालेर प्रदर्शन गरिएको छ भने उद्योगी, व्यापारीहरु गौर भन्सार अगाडि धर्ना दिएर नाराबाजी गरेका छन् । रौतहट उद्योग वाणिज्य संघले शुक्रबार नै अनिश्चितकालीन गौरका सम्पूर्ण बजार, कल कारखाना, पूर्ण रुपमा बन्द गर्न आह्वान गरेको छ ।

फागुन ३ गतेसम्म कुनै ठोस पहल नभए ४ गतेदेखि यातायात तथा नेपाल भारत नाका पूर्ण रुपमा बन्द गरिने रौतहट उद्योग वाणिज्य संघका महासचिव केशरीले जानकारी दिनुभयो । नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज तथा रौतहट क्षेत्र नं.१ मा नेकपा एमालेबाट उम्मेदवार समेत रहनुभएका अजय कुमार गुप्ताले उद्योगी, व्यवसायीको मागमा आफ्नो साथ रहने बताउनुभएको छ ।

निर्वाचनको मुखमा यस्ता गतिविधि गरेर निर्वाचनमा अवरोध हुने कार्य नगर्न सम्बन्धित निकायलाइ उहाँले ध्यानाकर्षण गराउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता रेवन्त झाले गौरमा कार्यालयको आफ्नै भवन रहेको र सिमरामा गएर काम गराउन दूरी हुनुको साथै खर्चिलो हुने भएकाले गौरबाट सेवा प्रवाह हुनु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले गौरबाट समान लैजान खोज्नु निन्दनिय रहेको प्रतिक्रिया दिनुभएको छ । माघ १ गतेदेखि कार्यालयले सेवा प्रवाह बन्द छ । कार्यालयबाट सम्पादन हुने काम हाल कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गर्दै आएको छ ।