• १ फागुन २०८२, शुक्रबार

यस्तो छ तनहुँ १ मा चुनावको माहोल

blog

डुम्रे (तनहुँ), फागुन १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं १ को पनि चर्चा चुलिएको छ । चर्चा हुनुको कारण हो, उम्मेदवारको व्यक्तित्व । 

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराईले यसअघि एकअर्कासँग प्रतिष्पर्धा गरिरहेका छन् । विसं २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा उहाँहरू बिच भएको चुनावी प्रतिस्पर्धा दोहोरिनुले पनि चर्चा बढेको हो । 

निर्वाचन क्षेत्र सर्वाधिक निगरानी र गणितीय अनिश्चितताको क्षेत्रका रूपमा पनि लिइएको छ । मतपरिणाम परम्परागत दल र नयाँ शक्तिबिच टक्कर हुने सम्भावना बढी देखिन्छ । 

यसका साथै यसपटक नेपाल कम्युनिस्ट पार्टी (एमाले)का भगवती न्यौपानेको पनि प्रतिस्पर्धा रहेको छ । मुख्य यी तीन पार्टीका साथै स्वतन्त्र उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य पार्टी पनि चुनावी मैदानमा छन् । राजनीतिक प्रतिस्पर्धा पुराना तथा नयाँ दलबिच प्रत्यक्ष रूपमा देखिएको छ । प्रत्येक दलले आआफ्नो सङ्गठन, एजेन्डा र उम्मेदवारको छविलाई प्राथमिकता दिइरहेका छन्। 

यहाँ पार्टीभन्दा पनि उम्मेदवारको इमानदारिता, विगतको काम र जनसम्पर्कले ठुलो भूमिका खेल्ने गरेको इतिहास उत्तिकै महत्त्वपूर्ण मानिएको छ । युवा मतदाता, परिवर्तन चाहने वर्ग र परम्परागत मतदाताबिचको सोचको द्वन्द्वले नतिजा अप्रत्याशित बनाउने गरेको उपनिर्वाचनको नतिजाले सावित गरेको छ । रास्वपाले उपनिर्वाचनमा प्राप्त विरासत निरन्तरता रूपमा कायम राख्ने लक्ष्य राखेको देखिन्छ । 

त्यस्तै, नेपाली कांग्रेसले पुरानो विजय र जनसमर्थन फर्काउने कोसिस गरिरहेको प्रष्ट छ । एमाले-नेकपाले पनि आआफ्नो परम्परागत मतलाई जोडिँदै पुनःप्रतिस्पर्धाको मैदानमा साख जोगाउनेतर्फ सचेत भएको देखिन्छ । यस क्षेत्रमा मतदाताले स्थानीय रूपमा विकास, पार्टीको विश्वास तथा तरल राजनीतिसम्बन्धी भावनालाई जोड दिँदै मत प्राप्त गर्ने सम्भावना देखिएको छ । रास्वपा र कांग्रेस प्रतिपक्षीलाई चुनौती दिनसक्ने शक्तिशाली दाबेदार बनेका छन् भने एमाले अझै पनि ठुलो मत विभाजनको अवस्थामा छ । 

प्रतिनिधिसभा २०७९ मा नेपाली कांग्रेस प्रत्यक्षतर्फ रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गर्नुभएको थियो भने एमालेका एकबहादुर रानाले १९ हजार ९८१, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार ८८६ र रास्वपाका विकास सिग्देलले छ हजार ४४ मत प्राप्त गर्नुभएको थियो । 

समानुपातिकतर्फ नेपाली कांग्रेस २० हजार १५८, नेकपा एमाले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३ र नेकपाले सात हजार ३२६ मत प्राप्त गरेको थियो । पौडेल विजयी हुँदै राष्ट्रपति भएपछि यस क्षेत्रको प्रतिनिधिसभाको संसदीय सदस्य पद खाली बनेको यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

विसं २०८० वैशाख १० मा भएको प्रतिनिधिसभा–१ उपनिर्वाचनमा ५३ प्रतिशत मात्रै मत खसेको थियो । रास्वपाका उपसभापति वाग्लेले ३४ हजार ९११ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । कांग्रेसका भट्टराईले २० हजार १२२ मत र एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ र अन्य दलले थोरै मत पाउनुभएको थियो । वाग्लेले १४ हजार ७९६ मतले जित हासिल गर्नुभएको थियो । 

उपनिर्वाचनमा रास्वपाले एमालेको मत करिब ११ हजार तानेको थियो भने रास्वपाले नेकपा, स्वतन्त्र उम्मेदवारको मत आफ्नो पक्षमा पार्न सफल भएको थियो। यसपटक निर्वाचनमा यस खालको अवस्था छैन । अझ बढी प्रतिस्पर्धात्मक देखिएको मतदाताको भनाइ छ ।

यहाँ नेकपा, उज्यालो पार्टी, श्रम संस्कृतिलगायतका उम्मेदवार पनि रहेकाले उनीहरूको आफ्नै प्रभाव हुने देखिन्छ । त्यस्तै नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार बन्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामदत्त जोशी (अभिषेक) लाई उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, उज्यालो पार्टीका मञ्जिल रानालगायत दलका उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा हुनुहुन्छ । आफ्नो पक्षमा मत पार्ने कसरतमा हुनुहुन्छ । 

दमौलीदेखि बैरेनी, कलेस्ती, रिस्ती, डुम्रे, भानु, आँबुखैरेनीसम्मका मतदाताको प्रतिक्रियाले तनहुँ–१ को चुनाव निकै पेचिलो देखाउँछ । अघिल्लो पटक स्पष्ट रूपमा खुलेका मतदाता पनि अहिले पर्ख र हेरको अवस्थामा छन् ।

भानु, आँबुखैरेनीका सहरी वडा, ब्यास नगरका सहरी वडा, डुम्रे बजार, देवघाटका सहरी क्षेत्रमा रास्वपाप्रति अलि झुकाव देखिएका छन् भने देवघाट आसपास र ग्रामिण बस्तीहरूमा रास्वपाभन्दा नेपाली कांग्रेस बलियो मानिएको छ । 

तनहुँ जिल्लामा कुल मतदाता दुई लाख ५४ हजार ३७९ मध्ये महिला मतदाता एक लाख ३० हजार ९०६  र पुरुष एक लाख २३ हजार ४९१ रहेका निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो । तनहुँ–१ क्षेत्रमा मात्रै एक लाख ३६ हजार ११८ मतदाता रहेका छन् भने तनहुँ–२ मा एक लाख १८ हजार २७९ मतदाता रहेका छन् । 

तनहुँ–१ निर्वाचन क्षेत्रमा देवघाट गाउँपालिकाका ५ वटै वडा, आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडा, बन्दीपुर गाउँपालिकाका ६ वटै वडा, भानु नगरपालिकाका १३ वटै वडा र व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेक अन्य १२ वटा वडा समेटिएका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५३ मतदान केन्द्र तोकिएको छ ।

तनहुँ क्षेत्र नं. २ मा कांग्रेसबाट शङ्कर भण्डारी चुनावी मैदानमा हुनुहुन्छ भने एमालेतर्फ केदार सिग्देल, नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर थापा, रास्वपाका श्रीराम न्यौपानेलगायत ११ दलले निर्वाचनको मैदानमा हुनुहुन्छ । 

गत निर्वाचन अर्थात् प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रमा भण्डारीले ३० हजार ६०४, एमालेका किरण गुरुङले २५ हजार १३०, रास्वपाका विजय जोशीले पाँच हजार ३७३ र अन्य उम्मेदवारले करिब एक हजार ७०८ मत प्राप्त गर्नुभएको थियो ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं.२ मा एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन् । यस क्षेत्रमा ३०९ मतदान केन्द्र रहेको छ । तनहुँ क्षेत्र नं.२ मा व्यास नगरपालिकाका ५ र ६ नं वडा, म्याग्दे गाउँपालिकाका ७ वटा वडा, शुक्लागण्डकी नगरपालिका १२ वटा वडा, भिमाद नगरपालिकाका ९ वटा वडा, ऋषिङ गाउँपालिकाका ८ वटा वडा र घिरिङ गाउँपालिकाका ६ वटा वडा पर्दछ । रासस