• १ फागुन २०८२, शुक्रबार

अज्ञात समूहद्वारा चार रोपनीको टमाटर उखेलेर नष्ट

blog

चौबिसे गाउँपालिका–४ फलामेटारमा स्थानीय कृषक महेश कार्कीको टमाटरबारीमा नष्ट गरिएको टमाटर । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, फागुन १ गते ।
अज्ञात समूहले धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा एक कृषकको टमाटर खेती नष्ट गरिदिएको घटना बाहिरिएको छ । घटना यही माघ २१ गते रातिको हो ।

स्थानीय कृषक महेश कार्कीले ४ रोपनी जग्गामा लगाएको करिब ७ सय टमाटर बोट उखालेर नष्ट पारिएको हो । रातको समयमा अज्ञात व्यक्तिहरूले बोट उखेलेर क्षति पुर्‍याएको कार्कीको भनाइ छ  ।

उत्पादन दिन थालेको अवस्थामा बाली नष्ट गरिएकाले ठुलो आर्थिक क्षति पुगेको कार्कीले गुनासो गर्नुभयो । “बुधबार साँझसम्म सग्लै रहेको टमाटर बिहीबार बिहान उठ्दा सबै सखाप पारी दिएको थियो, कसले के रिसिविले गर्यो थाहा छैन ।,” कार्की भन्नुहुन्छ ।

उहाँले स्थानीय गणेश भण्डारीको बारी भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएको थियो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्कीले घटना भएको एक हप्ता बितिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै गुनासो पोख्नुभयो ।

ईलाका प्रहरी कार्यालय राजारानीका अनुसार घटनाबारे जानकारी प्राप्त भई अनुसन्धान भइरहेको छ । क्षति भएको पुष्टि भए पनि कसले र किन यस्तो कार्य गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रमोद खड्काले जानकारी दिनुभयो । घटनाले कृषकको मेहनत र व्यवसायमा गम्भीर असर पुर्‍याएको स्थानीयले बताएका छन् । दोषीको खोजी गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।