• १९ असार २०८१, बुधबार

हरेक १ गते सवारी साधन नचलाउने अभियान

blog

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट आईतबार विद्युतीय अटोरिक्सामा कार्यालय जानुहुँदै । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन १ गते । इन्धनमा मितब्ययिता कायम राख्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने नीति कार्यान्वयनमा ल्याएको छ । उपमहानगरपालिकाको नगरसभाले हालै गरेको निर्णय कार्यान्वयनका लागि नगरप्रमुख प्रशान्त विष्टले साउन १ गते आईतबार विद्युतीय अटोरिक्सा प्रयोग गरेर निवासबाट कार्यालय तथा विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । 

“महिनाको एक दिन भएपनि इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्ने हो भने थोरै भएपनि इन्धनको बचत गर्न सकिन्छ,” नगर प्रमुख विष्टले भन्नुभयो, “यसबाट वाताबरण संरक्षणमा समेत सानै भएपनि योगदान दिन सकिन्छ भनेर नगरसभाबाट यो निर्णय गरिएको हो ।”

नगरसभाको निर्णय कार्यान्वयनका लागि पहिलो दिन नगरप्रमुख नै सवारी साधन प्रयोग नगरेपछि यसलाई नगरबासीले समेत सकारात्मक रुपमा लिएका छन् । नगरसभाको निर्णयपछि साउन १ गते पहिलो दिन भएको र बिस्तारै सम्पूर्ण रुपमा निर्णय कार्यान्वयनमा आउने उहाँले बताउनुभयो । 

नगर प्रमुख विष्टले आम नगरबासीलाई समेत अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगरी इन्धन बचत तथा वाताबरणीय सरसफाईको अभियानमा साथ दिन आग्रह गर्नुभयो । नेपालगञ्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिन छैन भन्ने उल्लेख छ । 

नगर प्रमुख विष्टले जनप्रतिनिधि र कर्मचारी मात्रै नभएर आमनगरबासीलाई समेत यो अभियानमा जोड्न खोजिएको बताउनुभयो ।