• १ फागुन २०८२, शुक्रबार

नयाँ अनुहार, नयाँ चुनावी एजेन्डा

blog

बुटवल समाचारदाता

बुटवल, फागुन १ गते । रुपन्देही निर्वाचन क्षेत्र नं. १ नेपाली कांग्रेसका एउटै उम्मेदवारले लगातार तीन पटक जितेर ह्याट्रिक गरेको क्षेत्र हो । यस पटकको निर्वाचनमा अघिल्ला चुनावमा भन्दा फरक खालको प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसका नेता दुर्योधनसिंह थारूले तीन पटक जित हासिल गरेको यो क्षेत्रमा अहिले भने धेरै जसो दलले नयाँ अनुहार उम्मेदवार बनाउँदा फरक खालको प्रतिस्पर्धा देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेकपाबाहेक सबै दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।  

२०४८ सालमा आमनिर्वाचन र २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका दुर्योधनसिंह थारू विजयी हुनुभयो । २०५६ सालमा भएको संसदीय निर्वाचनमा पनि उहाँले नै जित हात पार्नुभएको थियो । त्यसै गरी नेकपा (एमाले) का छविलाल विश्वकर्माले पनि यो क्षेत्रबाट दुई पटक निर्वाचित हुने अवसर पाउनुभयो । कांग्रेसले तीन र एमालेले दुई पटक जित निकालेको यो क्षेत्रमा यस पटक कांग्रेस र एमालेका नयाँ उम्मेदवार चुनावी मैदानमा छन् । 

२०६४ सालको संविधान सभाको चुनावमा भने कांग्रेसले तत्कालीन रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकलाई उठायो  । एमालेबाट छविलाल विश्वकर्माले टिकट पाउनुभयो । माओवादीबाट घनश्याम यादव चुनावी मैदानमा हुनुहुन्थ्यो र घनश्याम यादवले जित हात पार्नुभयो । त्यसै गरी २०७० सालको दोस्रो संविधान सभाको चुनावमा कांग्रेसका रज्जाकले निर्वाचन जित्नुभयो । 

२०७४ सालमा भएको संसदीय निर्वाचनमा एमालेका छविलाल विश्वकर्माले नतिजा उल्ट्याउँदै कांग्रेसका रज्जाकलाई पराजित गर्नुभयो । २०७९ को निर्वाचनमा पनि एमालेका छविलाल विश्वकर्माले जित हात पार्नुभयो । २०४८ सालयता यो क्षेत्रबाट नेपाली कांग्रेसले तीन, नेकपा (एमाले) ले दुई पटक र तत्कालीन नेकपा माओवादीले एक पटक निर्वाचन जितेको यो क्षेत्रमा यस पटक भने नयाँ अनुहार उम्मेदवार भएकाले बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ ।  

यस पटक सबै दलले नयाँ अनुहार उम्मेदवारलाई चुनावी मैदानमा उतार्दा २०६४ सालमा पहिलो संविधान सभाको चुनाव जित्नुभएका घनश्याम यादव भने फेरि यो चुनावी मैदानमा हुनुहुन्छ । मुख्य प्रतिस्पर्धी भनिएका पाँच वटै दलबाट जो निर्वाचित भए पनि प्रतिनिधि सभामा पुग्ने यादवबाहेक नयाँ अनुहार हुने छन् । नेपाली कांग्रेसले देवदह नगरपालिकाका पूर्वनगरप्रमुख हिराबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । 

एमालेबाट उम्मेदवार बन्नुभएका दधिराम न्यौपानेका लागि पनि सङ्घीय निर्वाचनको अनुभव पहिलो हो । उहाँसंँग प्रदेश सभासदको अनुभव भए पनि प्रतिनिधि सभाका लागि नयाँ अनुहार हो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीका महामन्त्री सुनील लम्साल पनि पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

राप्रपाका तर्फबाट उम्मेदवार बनेका प्रज्वल बोहोरा पूव सांसद दीपक बोहोराका छोरा हुनुहुन्छ । उहाँ पनि पहिलो पटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । रुपन्देही क्षेत्र नम्बर १ मा यस पटक ३१ जना चुनावी मैदानमा छन् । जसमा २० जना दलगत र १० जना स्वतन्त्र उम्मेदवार हुन् ।