• १ फागुन २०८२, शुक्रबार

नयाँ उम्मेदवारबिच प्रतिस्पर्धा

blog

प्रतीक इच्छुक शर्मा 

सल्यान, फागुन १ गते । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सल्यानमा फागुन २१ गते हुने निर्वाचनमा नयाँ उम्मेदवार प्रतिस्पर्धामा होमिएका छन् । दुई स्वतन्त्रसहित १२ दलका १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रत्यक्ष निर्वाचनमा होमिएका अधिकांश उम्मेदवार नयाँ अनुहार भएका कारण मतदाताले उम्मेदवार र उनीहरूको एजेन्डा बुझ्न चुनौती भइरहेको छ । विकास, पूर्वाधार, रोजगारी र सुशासन, सेवा प्रवाह सुधार जस्ता विषय सबै उम्मेदवारको साझा चुनावी एजेन्डा बनेका छन् । नेपाली कांग्रेसबाट केशबहादुर विष्ट पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिनुभएको छ । उहाँ कांग्रेस सल्यानका जिल्ला सभापति तथा जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुनुहुन्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षमा पराजित भएका विष्ट यस पटक संसदीय निर्वाचनमा भाग लिनुभएको हो । नेकपा (एमाले) बाट गुलाबजङ्ग शाह निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुुहुन्छ । उहाँ कर्णाली प्रदेश सभाका पूर्वसदस्य हुनुहुन्छ । २०७९ सालको प्रदेश सभा निर्वाचनमा पराजित भएका शाह प्रतिनिधि सभामा पहिलो पटक उम्मेदवार बन्नुभएको हो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रमेशकुमार मल्ल पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिनुभएको छ । उहाँ विद्यार्थी राजनीतिबाट आउनुभएको हो । मल्ल नेकपाका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । 

नेकपा (माओवादी) बाट पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ । माओवादी पार्टी यस पटक अलग पहिचानसहित संसदीय निर्वाचनमा सहभागी भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललित चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अमिसा नेपाली, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा क्षेत्री, नेसनल रिपब्लिक नेपालबाट डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीबाट कालीदास विक र दुई स्वतन्त्र उम्मेदवार ध्रुवराज वली तथा जुद्धबहादुर सिंह चुनावी मैदानमा हुनुहुन्छ । २०७९ सालमा प्रत्यक्ष निर्वाचनमा प्रकाश ज्वाला ३५ हजार ७०७ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस बागी राजेन्द्रबहादुर शाहले १९ हजार ७९२, एमालेका राजेन्द्रवीर रायले १३ हजार ३९ र रास्वपाका पवनराज देवकोटाले तीन हजार ६९५ मत प्राप्त गर्नुभएको थियो । समानुपातिक मतपरिणाममा भने एमाले २२ हजार २५६ मत प्राप्त गरी पहिलो पार्टी बनेको थियो । तत्कालीन माओवादी केन्द्रले २१ हजार ३२५, नेपाली कांग्रेसले १९ हजार ९६६ र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले पाँच हजार ९७० मत प्राप्त गरेका थिए । हाल संयुक्त नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) को समानुपातिक मत २७ हजार २९५ पुगेको छ । 

ठुला दलहरूले आफ्नो राजनीतिक अस्तित्वको परीक्षा लिने क्रममा, नयाँ तथा स्वतन्त्र उम्मेदवारले आफूलाई स्थापित गर्ने अवसरका रूपमा निर्वाचनमा भाग लिएका छन् । सबै नयाँ अनुहारबिचको प्रतिस्पर्धाले सल्यानको निर्वाचनलाई थप रोचक बनाएको छ ।