सुर्खेत समाचारदाता
सुर्खेत, फागुन १ गते । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले निर्वाचन आचारसंहिताविपरीत बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । सञ्जालले बुधबार सुर्खेतस्थित विभिन्न राजनीतिक दलका जिल्ला तथा प्रदेशस्तरीय नेतालाई ध्यानाकर्षणपत्र बुझाउँदै चुनावी प्रचारप्रसार, जुलुस, ¥याली, नारा लगाउने तथा पोस्टर टाँस्ने जस्ता गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो ।
सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकालले विगतका प्रतिनिधि सभा तथा स्थानीय तह निर्वाचनका क्रममा बालबालिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा चुनावी गतिविधिमा प्रयोग गरिएका घटना देखिएकाले यस पटक पनि दोहोरिन सक्ने जोखिमप्रति गम्भीर चासो व्यक्त गरिएको बताउनुभयो । उहाँले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया हो तर यसमा बालबालिकालाई प्रयोग गर्नु उनीहरूको अधिकारको उल्लङ्घन मात्र होइन, शारीरिक, मानसिक र मनोसामाजिक सुरक्षामा समेत खतरा भएको भन्दै संविधान, बालअधिकार ऐन र निर्वाचन आचारसंहिताले समेत यस्तो काम निषेध गरेको हुँदा सबै दललाई जिम्मेवार बन्न सुझाव दिनुभयो ।
सञ्जालले नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी, नेकपा (एमाले) का सचिव डम्बर तिवारी, नेकपा इन्चार्ज केदार कँडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र नं २ का संयोजक शिवप्रसाद रेग्मी, राप्रपाका पूर्वकेन्द्रीय सदस्य मनबहादुर बुढा, जनमोर्चाका वीरेन्द्रनगर सभापति हिरालाल नेपाली, उज्यालो पार्टी नेपालका जिल्ला प्रतिनिधि दीपेन्द्र विकलाई सो ध्यानाकर्षणपत्र बुझाएको छ । साथै बोधार्थका रूपमा जिल्ला प्रशासन कार्यालय सुर्खेत र प्रदेश निर्वाचन कार्यालय कर्णालीलाई समेत जानकारी गराइएको छ ।
नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाउँदै दलभित्र स्पष्ट निर्देशन जारी गरिने बताउनुभयो । उहाँले आफूहरू आचारसंहिता पालना गर्न प्रतिबद्ध भएको भन्दै बालबालिकाको सहभागिता निषेध गर्ने विषयमा सङ्गठनलाई सचेत गराइने जानकारी दिनुभयो । नेकपा (एमाले) सुर्खेतका सचिव डम्बर तिवारीले विगतका दिनमा पनि आफ्नो दलले बालबालिकाको प्रयोग नगरेको दाबी गर्दै आगामी दिनमा सचेत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का इन्चार्ज केदार कँडेलले निर्वाचन प्रक्रियामा मर्यादा र कानुनको पालना आवश्यक रहेकाले बालबालिकाको प्रयोग रोक्न आन्तरिक अनुगमन संयन्त्र बलियो बनाइने जनाउनुभयो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले प्राप्त ध्यानाकर्षणपत्रलाई गम्भीर रूपमा लिएको जनाउँदै कानुन कार्यान्वयनमा प्रशासन सजग रहने बताउनुभयो । प्रदेश निर्वाचन कार्यालय कर्णालीका प्रमुख लालबहादुर गुरुङले पनि आचारसंहिता उल्लङ्घन भए कारबाही गरिने जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो ।
मानव अधिकार रक्षक सञ्जालमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सिसिआर, आवाज, फेडो, वाम, नेपाल पत्रकार महासङ्घ, उच्च बार एसोसिएसन, नवज्योति केन्द्र, सोसेक नेपाल, हुरेकलगायतका २८ वटा संस्था आबद्ध छन् । सञ्जालले आगामी निर्वाचन अवधिभर अनुगमनलाई तीव्र बनाउने योजना बनाएका इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनुभयो ।