• १ फागुन २०८२, शुक्रबार

खटिए निर्वाचन प्रहरी

blog

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), फागुन १ गते । आगामी निर्वाचनमा नेपाल प्रहरीसँग थप सुरक्षा प्रदान गर्न र नियुक्त गरिएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमातहतका युनिटमा खटाइएको छ । प्रहरीको छनोट प्रक्रियाबाट छनोट भएर आएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरी हाललाई मातहत युनिटमा खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो । 

निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षाका लागि अपनाउनुपर्ने सबै किसिमका सुरक्षा उपायका बारेमा तालिम प्रदान गरेर मातहत युनिटमा खटाइएको उहाँले बताउनुभयो । 

यहाँका पाँच वटा इलाका प्रहरी कार्यालय तथा विभिन्न प्रहरी चौकीमा निर्वाचन प्रहरीलाई खटाएको उहाँले बताउनुभयो । “निर्वाचन प्रहरीले हामीसँगै रहेर निर्वाचनमा सुरक्षा प्रदान गर्छ, उहाँले भन्नुभयो ।” प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँ नेपाल प्रहरीतर्फ ८८४ जना र सशस्त्र प्रहरी बलतर्फ ४६ जना निर्वाचन प्रहरी नियुक्त गरिएको छ । 

सशस्त्र प्रहरी बलतर्फ नियुक्त गरिएका निर्वाचन प्रहरीले सशस्त्र प्रहरीसँगै सुरक्षा प्रदान गर्ने पनि उहाँले जानकारी दिनुभयो । मातहत युनिटमा खटाइएका निर्वाचन प्रहरीलाई मतदान हुनुभन्दा एक हप्ताअघिदेखि अन्य सुरक्षाकर्मीसँगै सम्बन्धित मतदान केन्द्रमा खटाइने उहाँले बताउनुभयो । दार्चुलामा सुरक्षाका दृष्टिकोणबाट १५ वटा मतदान स्थल तथा २२ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको छ । ११२ मतदान स्थलमध्ये १५ र १४३ मतदान केन्द्रमध्ये २२ वटा केन्द्रलाई सुरक्षाका दृष्टिकोणबाट अति संवेदनशीलको सूचीमा राखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अनिल पौडेलले जानकारी दिनुभयो । 

बाँकी ३२ वटा मतदान स्थल संवेदनशील र ६५ वटा स्थललाई सामान्यको सूचीमा राखिएको उहाँले बताउनुभयो । निर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिनुभयो ।  “निर्वाचन भयरहित वातावरणमा गर्न मतदान स्थल र केन्द्रलाई तीन भागमा वर्गीकरण गरी सुरक्षा गस्ती गराउने र सुरक्षा पट्रोल गर्ने कार्य भइरहेको छ,” उहाँले भन्नुभयो । दार्चुलामा प्रतिनिधि सभा निर्वाचनका लागि ९२ हजार ९४८ जना मतदाता कायम भएका छन् ।