• १ फागुन २०८२, शुक्रबार

विधिले बदलिएको कांग्रेस

blog

नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासका हरेक मोडको निर्णायक शक्ति हो । मुलुकमा नागरिक अधिकार, राजनीतिक चेतनाको विद्रोहदेखि लोकतान्त्रिक बहुदलीय व्यवस्था, जनआन्दोलन, शान्ति सम्झौता र संविधान निर्माणको नेतृत्वकर्ता हो कांग्रेस । भदौ २३ र २४ गतेको जेनजी विद्रोह स्वाभाविक तर अकल्पनीय थियो । विद्रोहको बीजारोपण हुनुको विभिन्न कारणमध्ये एक कांग्रेस पनि हो । युवा विद्रोहको उभारले कांग्रेसमा विधिवत् रूपान्तरणको ठुलै कम्पन सिर्जना भयो । जेनजी विद्रोहपछि सबैभन्दा धेरै परिपक्व, सन्तुलित, जिम्मेवार, परिष्कृत, रूपान्तरित र चलायमान राजनीतिक दल कांग्रेस नै देखिएको छ । 

कांग्रेसको विशेष महाधिवेशन केवल एक सङ्गठनात्मक, लोकतान्त्रिक र बहसको प्रक्रिया मात्र रहेन । यो पार्टीभित्र लामो समयदेखि सुषुप्त अवस्थामा रहेको वैचारिक द्वन्द्व, पुस्तागत असन्तोष र संस्थागत जडताको विरुद्ध उठेको विधिवत् विद्रोहको औपचारिक, सशक्त र विशेष मञ्च बन्यो । यही सन्दर्भमा गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक भावना, दर्बिलो साथ र अदम्य साहसले कांग्रेसभित्रको विद्रोहलाई अराजक नभई संवैधानिक, साङ्गठनिक र वैचारिक अनुशासनभित्रको रूपान्तरणको स्पष्ट सन्देश स्थापित गरेको छ । राजनीतिक दलको आन्तरिक लोकतन्त्र र भुइँ तहका महाधिवेशन प्रतिनिधिमा विधानले दिएको बल कति सर्वशक्तिमान हुने रहेछ भन्ने प्रमाणित विशेष महाधिवेशनले गरेको छ । 

विगतदेखि नै कांग्रेसले आन्तरिक र बाह्य राजनीतिक आरोह अवरोह सामना गर्दै आएको इतिहास छ । कांग्रेसको विधानमा उल्लिखित विधिवत् व्यवस्थाले नेपालको राजनीतिक विलखबन्दलाई लयमा ल्याउने सार्थक हस्तक्षेप गरेको छ । जसको नायकत्व बनेका छन्, गगन र विश्व प्रकाश । मुलुकको राजनीतिक निकासका लागि आममानिस, भुइँ तहका कांग्रेसका सच्चा कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, कानुनविद्, राजनीतिक विश्लेषक, विद्वत्वर्ग, पत्रकार र शुभेच्छुक नागरिक समाजद्वारा कांग्रेसले महाधिवेशन गरेर चुनावमा नयाँ नेतृत्व र नीति लिएर जनसमक्ष जानु पर्छ भन्ने चाहना र सुझावले कांग्रेसको रूपान्तरणका लागि ठुलो बल पुगेको छ ।

कांग्रेसको इतिहासमा विशेष महाधिवेशन सधैँ नेतृत्व विस्थापित गर्न मात्र नभई सङ्कटको बेला सङ्गठनलाई नयाँ ऊर्जा दिन विशेष अस्त्रसमेत बनेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको परिणाम अहिले नीति र नेतृत्व परिर्वतनमा परिणत भएको छ । पार्टी रूपान्तरण र देशको सङ्कटमोचन गर्ने आँट, अडान र आशा देखिएको छ । स्वच्छ, स्वस्थ्य र पारदर्शी रूपमा १६५ क्षेत्रमा नै टिकट वितरण भएको छ । कहीँ कतै पनि असन्तोष देखिएको छैन । पाकापुस्तादेखि युवापुस्ता, विज्ञदेखि योगदान गरेका महिला, मधेशी, मुस्लिम र जनजाति जस्ता समावेशी उम्मेदवारले कांग्रेसको खास रूपान्तरण देखिएको छ । कांग्रेसको पछिल्लो परिर्वतनले अन्य पार्टीमा पनि रूपान्तरणको आवाज उठाएको छ । नजिकिँदो चुनावी माहोललाई नयाँ ऊर्जा थपिदिएको छ । पार्टी, नेतृत्व, नीति, उम्मेदवार र एजेन्डामा बहस सुरु भएका छन् । 

पछिल्लो तीन दशक पार्टी र सरकारको नेतृत्वमा उस्तै अनुहारको रजगज थियो । एकातिर समयानुकूल जनअपेक्षाको सम्बोधन हुन सकेन भने अर्कातर्फ जनतामा निराशा बढ्दो थियो । मुलुकको राजनीति सीमित शीर्ष तहमा मात्र जमेर बसेको थियो । जेनजी विद्रोह भयो । जनधनको अकल्पनयि क्षति भयो । शीर्ष नेतृत्वले आत्मसमीक्षा गरेर राजीनामासमेत दिन चाहेनन् । एमालेले कर्मकाण्डी महाधिवेशन ग¥यो । नेपाली कम्युनिस्ट पार्टी, रास्वपा जस्ता अन्य पार्टीले आफूहरूलाई रूपान्तरण गर्न चाहेनन् । नेतृत्वमाथि अनेक प्रश्न उठ्दा पनि मौन रहे । दलहरू आन्तरिक लोकतन्त्रबाट परिष्कृत हुनु पर्छ । चुनावमा आफ्नै नीति, सिद्धान्त र बलमा जनताबाट अनुमोदन हुनु पर्छ । कुनै गठबन्धन, साँठगाँठ र सम्झौताबाट जनतालाई प्रभावित र प्रलोभन पारेर राजनीतिक संस्कारलाई नै सङ्कटमा पार्नु हुँदैन भन्ने सशक्त सन्देश कांग्रेसको नीतिले दिएको छ । 

कांग्रेसका नवनिर्वाचित सभापति गगनले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने सङ्कल्प गर्नुभएको छ । यसले बदलिएको कांग्रेसको सन्देश प्रवाह गरेको छ । विशेष महाधिवेशनमा गगनले उठाएको मुख्य प्रश्न नेतृत्वको उत्तरदायित्व, कार्यसम्पादन र समयानुकूल निर्णय क्षमतासँग जोडिएको थियो । उहाँले सत्ता साझेदारी, सरकार सञ्चालन र नीति प्राथमिकतामा देखिएको अस्पष्टतालाई केवल कमजोरी नभई राजनीतिक सङ्कटको सङ्केतका रूपमा चित्रित गर्नुभएको छ । विश्वप्रकाशले त्यसलाई सङ्गठनात्मक धरातलमा जोड्दै कांग्रेसको कार्यशैली, जनतासँगको संवाद र नैतिक राजनीतिमा आएको क्षयमाथि स्पष्ट रूपमा प्रश्न उठाउनुभएको छ ।

कांग्रेसको रूपान्तरणले जेनजीसहितका नयाँपुस्तामा पनि आशा, ऊर्जा र भरोसा थपिदिएको छ । विधिवत् लोकतान्त्रिक हस्तक्षेपले युवापुस्तालाई थप हौसला दिएको छ । सुशासनमा प्रतिबद्धता र भ्रष्टाचारको निरुत्साहनले कांग्रेसलाई रक्षात्मक होइन परिष्कृत र अग्रगामी बनाएको छ । कांग्रेसभित्रको लोकतान्त्रिक विधि, राजनीतिक संस्कार, अन्तरपुस्ताको बहस, अग्रजको सम्मान, राजनीतिक योगदान र योग्यता, पार्टीको मूल्यमान्यता, सिद्धान्त, इतिहास वर्तमानको भरोसा र भविष्यको आशाले नयाँ पुस्तालाई पनि आकर्षण गरेको छ । 

देशको परिस्थिति भुलेर क्षणिक लोकप्रियतावादबाट देशको शासकीय व्यवस्था सुदृढ र दीर्घकालीन हुन सक्दैन । कांग्रेसको पछिल्लो रूपान्तरणले समाजका सबै शिरामा नयाँ ढङ्गको बहस सिर्जना भएको छ । लोकतन्त्र लयमा आउने विश्वास छ । राजनीतिक विश्लेषक तथा नेता राम कार्की भन्नुहुन्छ, “कांग्रेस आफ्नो चरित्रमा फर्किंदा कम्युनिस्ट पार्टी र ‘पपुलिज्म’ धारका वैकल्पिक शक्तिलाई पनि राजनीतिक लयमा ल्याउने नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ ।” विशेष महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व र नीतिमार्फत मुलुकको राजनीतिक निकासको स्पष्ट सन्देश दिएको छ ।

विशेष महाधिवेशनमार्फत केही महत्वपूर्ण शासकीय सुधारका विषय उठान भएका छन् । निर्वाचनपूर्वको गठबन्धन अन्त्य, दुई पटक प्रधानमन्त्रीको कार्यकाल, समयानुकूल संविधान संशोधन, कानुन निर्माणलाई तीव्रता, कार्यान्वयनमा प्रभावकारिता रहेका छन् । कांग्रेसमा आएको रूपान्तरणले बुद्धिजीवी, कर्मचारी र प्रबुद्ध व्यक्तिमा पनि नयाँ आशाको सञ्चार भएको छ । कांग्रेसको आन्तरिक लोकतन्त्र र मुलुकको राजनीतिक रूपान्तरणलाई नजिकबाट नियाल्दै आएको विद्वत्वर्गले मुलुकको शासकीय सुधारको अपेक्षा गरेका छन् । निर्वाचन र सत्ता सुधारका लागि गठबन्धनको अन्त्य, सांसद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको कार्यकाल संविधानमा नै तोक्ने, प्राइमरी निर्वाचन, नो भोटको व्यवस्था, विदेशमा रहेका नागरिकलाई मतदान व्यवस्था गर्ने नयाँ प्रस्ताव छन् । 

सुशासनका लागि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने । कुनै पनि सार्वजनिक पदको शपथ लिनुअघि सम्पत्ति विवरण सार्वजनिक अनिवार्य गर्नुपर्ने । भ्रष्टाचारको आरोप लाग्ना साथ नेता वा सदस्य स्वतः निलम्बन हुने पार्टीले कसैलाई पनि संरक्षण नगर्ने शून्य सहनशीलता अपनाउने । आन्तरिक सुशासन आयोग गठन गर्ने । सार्वजनिक सेवा सुधारमा सहजका लागि क्षतिपूर्तिसहितको सेवा सञ्चालन गर्ने । नागरिकता, कर जस्ता सेवा एकद्वार प्रणालीबाट डिजिटल प्रणालीमा लागु गर्ने । संवैधानिक निकाय र विश्वविद्यालयमा दलीय भागबन्डा हुने छैन । नियुक्ति योग्यताका आधारमा गरिने छ । पार्टीका सदस्य तथा पूर्वकर्मचारी अवकाशको दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने प्रतिबद्धता छन् । जुन प्रतिबद्धता नागरिक तहबाटै अपेक्षित थिए ।

एक व्यक्ति जीवनमा एक पटक मात्र समानुपातिक सांसद् बन्न पाउने छन् । विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा सिधै ल्याउन ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरिने छ । समावेशिताका लागि ‘सिङ्गल रोटेसन’ निर्वाचन अवधारणा अघि बढाउने । आर्थिक नीतितर्फ आत्मनिर्भर अर्थतन्त्र रेमिट्यान्सको निर्भरतालाई हटाउँदै, उत्पादन, ऊर्जा र पर्यटनमा जोड दिने । विकासमा ढिलासुस्ती रोक्न सार्वजनिक खरिद कानुन फेरिने र प्रक्रियालाई पारदर्शी बनाउने विषयले शासकीय सुधारलाई सङ्केत गरेका छन् । 

कांग्रेसलाई ‘इतिहासको पार्टी’ होइन, ‘भविष्यको पार्टी’ बनाउन चाहन्छन् । नेतृत्व उत्तराधिकारी होइन, उत्तरदायी हुनु पर्छ । कांग्रेसको ऐतिहासिक दायित्व केवल सत्ता प्राप्ति होइन, लोकतन्त्रको रक्षा र समाजको रूपान्तरण हो । आज देश बेरोजगारी, भ्रष्टाचार, निराशा र वैदेशिक पलायनको सङ्कटमा छ । यस्ता बेला कांग्रेसभित्र नयाँ ऊर्जा, नयाँ दृष्टिकोण र नवीन कार्य आवश्यक छ । गगन–विश्वले ढकढकाएको ढोका एउटा व्यक्तिका लागि मात्रै नभई कांग्रेस र मुलुककै भविष्यका लागि खुल्ने ढोका हो । 

आमनागरिकले संविधानको समयानुकूल संशोधन र कार्यान्वयन, कानुन निर्माणलाई तीव्रता, सङ्घीयताको सुदृढ अभ्यास, सुशासन र समुन्नतिका लागि संस्थागत विकास साथै भूराजनीतिक सन्तुलनका लागि कांग्रेसमा दृष्टिकोणसहितको कुशल नेतृत्व गर्ने क्षमतामा सभापति गगन उभिनुभएको छ । आधुनिक समयानुकूल मुलुकको वास्तविक अवस्थालाई बुझेको र भावी दिनमा वैचारिक रूपमा प्रस्ट दृष्टिकोण, सामाजिक–आर्थिक रूपान्तरण, लोकतन्त्र र सामाजिक न्याय, कूटनीतिक परिपक्वता, राष्ट्रिय हित, भ्रष्टाचारविरुद्ध रही सुशासनको पक्ष र समुन्नतिको मार्गलाई नेतृत्व गरी आममानिसमा आशाको सञ्चार गराउन सक्ने कांग्रेसको कुशल नेतृत्व तयार रहेको सन्देश देखिन्छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई कुशलतापूर्वक नेतृत्व गर्ने मियो कांग्रेस नै तयार हुनु पर्छ । जेनजी विद्रोहपछिको संवैधानिक, राजनीतिक र आर्थिक सङ्कटमोचनका लागि कांग्रेसमा एकताको सन्देशसहित अग्रगामी नीति, योजना र कार्यक्रममा स्पष्टता खाँचो छ । मुलुकलाई युग सुहाउँदो नेतृत्व कांग्रेसले नै गर्न सक्छ भन्ने सङ्कल्प नै आजको मुख्य आवश्यकता हो र त्यो अन्य पार्टीमा भन्दा पनि कांग्रेसमा नै सम्भावना देखिन्छ । पार्टी रूपान्तरण गर्ने विधिवत् विद्रोह जस्तै अब मुलुक रूपान्तरण गर्ने जोखिम गगन–विश्वले जनताका मन, मत र साथबाट जितेर उठाउनु पर्छ । 

अन्त्यमा कांग्रेसको काँधमा देशको लोकतन्त्र, संविधान र व्यवस्था बचाउने अन्तिम आशा भनेकै नयाँ नेतृत्व, समयानुकूल नीति र जनताको मत हो । राजनीतिक निकास र स्थायित्वका लागि जनताले अब विवेक पुर्‍याउनुपर्ने समय आएको छ । अब कांग्रेसको नेतृत्व मुलुकको राजनीतिक रूपान्तरण योगदानमा मात्र होइन कि कार्यसम्पादनमा पनि उत्तिकै उच्चतम योग्यताका साथ अब्बल, अग्रणी र परिपक्व ढङ्गले उभिनुपर्ने आवश्यकता छ ।