विश्व अर्थतन्त्र अस्थिरताको चक्रमा घुमिरहँदा फेरि एक पटक विश्वव्यापी लगानीकर्ताको रोजाइमा सुन परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइ नजिक पुगिरहँदा नेपालमा पनि दैनिक नयाँ भाउको कीर्तिमान बनाइरहेको छ, जसले आमसर्वसाधारणदेखि व्यापारी र साना ठुला लगानीकर्तासम्मलाई आकर्षित गरेको छ । ‘सुनमा लगानी’ भन्ने शब्द अब केवल आर्थिक पत्रिकाको शीर्षकमा सीमित छैन; यो चिया पसलको गफ, सामाजिक सञ्जालको बहस र पारिवारिक बचत योजनाको भाग बन्न थालेको छ तर सुनको मूल्य बढ्दै जाँदा उठ्ने सबैभन्दा महत्वपूर्ण प्रश्न हो– के यो अवसर हो कि सम्भावित जोखिमको सङ्केत ?
परम्परागत रूपमा नेपाली समाजमा सुनको गहिरो सांस्कृतिक, सामाजिक र आर्थिक महत्व छ । विवाह, व्रतबन्ध, तिज, दसैँ जस्ता चाडपर्व, दाइजो र पारिवारिक प्रतिष्ठासँग सुन जोडिएको छ । घरमा राखिएको सुनलाई ‘सङ्कटको बेलाको सहारा’ मान्ने धारणा बलियो छ । यही सांस्कृतिक विश्वासले सुनलाई केवल उपभोग्य वस्तु नभई सम्पत्तिको रूपमा स्थापित गरेको छ तर पछिल्लो दशकमा यसको अर्थ बदलिँदै गएको छ– सुन अब ‘गहना’ भन्दा सम्पत्तिका रूपमा चर्चित छ ।
सुनलाई सुरक्षित सम्पत्ति किन भनिन्छ भन्ने बुझ्न विश्व अर्थतन्त्रतर्फ फर्किनु पर्छ । जब विश्वमा युद्ध, आर्थिक मन्दी, बैङ्किङ सङ्कट, मुद्रास्फीति वा मुद्रा अवमूल्यनको डर हुन्छ, लगानीकर्ता जोखिमयुक्त सम्पत्तिबाट पैसा निकालेर स्थिर र मूल्य जोगाउने साधनमा लगानी गर्न खोज्छन् । सेयर बजार घट्दा, क्रिप्टोकरेन्सी अस्थिर हुँदा वा मुद्राको क्रयशक्ति घट्दा सुनप्रति आकर्षण बढ्ने इतिहास छ । मुद्रास्फीति हुँदा पैसाको मूल्य घट्छ तर सुनको आपूर्ति सीमित भएकाले यसको मूल्य दीर्घकालमा बढ्ने अपेक्षा गरिन्छ । त्यसैले धेरै अर्थशास्त्रीले सुनलाई ‘मुद्रास्फीतिविरुद्धको सुरक्षा कवच’ मान्छन् । अमेरिकाको ब्याजदर नीति, डलरको मजबुती, विश्वका केन्द्रीय बैङ्कहरूको सुन खरिद–बिक्री नीति, चीन र भारत जस्ता देशको सुनको माग, भूराजनीतिक तनाव आदि कारणले सुनको अन्तर्राष्ट्रिय मूल्य निर्धारण हुन्छ, जसको प्रत्यक्ष असर नेपालमा पनि पर्छ ।
नेपालको सन्दर्भमा सुनको बजार केही विशिष्ट छ । नेपालमा सुन उत्पादन हुँदैन; आयातमै निर्भर रहनु पर्छ । सरकारले निश्चित कोटामार्फत सुन आयात अनुमति दिन्छ, जसले आपूर्ति नियन्त्रण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलर–रुपियाँ विनिमय दर, भन्सार शुल्क र कर संरचनाले यहाँको खुद्रा मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय मूल्य बढ्छ वा डलर महँगो हुन्छ, नेपाली बजारमा सुनको भाउ स्वतः बढ्छ । पछिल्ला वर्षमा नेपाली रुपियाँको अवमूल्यन र डलरको मजबुतीले पनि सुनलाई अझ महँगो बनाएको छ । यही बढ्दो मूल्यले ‘आज किनेपछि भोलि महँगो हुन्छ’ भन्ने मनोविज्ञान निर्माण गर्छ, जसले मागलाई अझ उचाल्छ ।
लगानीको दृष्टिले भने सुनको प्रकृति बुझ्नु आवश्यक छ । सुनले बैङ्क निक्षेप जस्तो ब्याज दिँदैन, सेयर जस्तो लाभांश दिँदैन, न त व्यवसाय जस्तो नियमित नगद प्रवाह दिन्छ । यसको नाफा केवल मूल्यवृद्धिमा निर्भर हुन्छ । यदि मूल्य स्थिर रह्यो वा घट्यो भने लगानीकर्ताले कुनै प्रतिफल पाउँदैन । यसैले सुनलाई दीर्घकालीन सम्पत्ति संरक्षणका लागि उपयुक्त मानिए पनि छोटो अवधिको सट्टा कारोबारमा जोखिम उच्च हुन्छ । धेरैले सुनको हालको ट्रेन्ड हेरेर भावनात्मक निर्णय लिन्छन् तर अन्तर्राष्ट्रिय बजारमा मूल्य एकाएक घटेको उदाहरण पनि प्रशस्त छन् ।
नेपालमा सुनमा लगानी गर्ने मुख्य तरिका भौतिक सुन किन्नु नै हो– बिस्कुट, सिक्का वा गहना । गहना किन्दा मेकिङ चार्ज, डिजाइन शुल्क र बिक्री गर्दा काटिने डरले वास्तविक नाफा घटाउन सक्छ । बिस्कुट वा सिक्का तुलनात्मक रूपमा लगानीमैत्री मानिन्छ तर भण्डारण र सुरक्षाको समस्या रहन्छ । बैङ्क लकर प्रयोग गर्दा अतिरिक्त खर्च लाग्छ । चोरी वा हराउने जोखिम पनि विचार गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय रूपमा गोल्ड इटिएफ, डिजिटल गोल्ड वा वायदा बजार जस्ता विकल्प छन् तर नेपालमा यस्ता साधनको
पहुँच सीमित छ । सुनमा लगानीको मनोविज्ञान पनि रोचक छ । जब बजारमा ‘सुनको भाउ फेरि बढ्यो’ भन्ने समाचार लगातार आउँछ, मानिसमा ‘मौका छुट्ला कि ?’ भन्ने डर पैदा हुन्छ । यही मनोविज्ञानले मागलाई कृत्रिम रूपमा बढाउँछ तर कुनै पनि सम्पत्तिको मूल्य अनन्तसम्म बढ्दैन । यदि अन्तर्राष्ट्रिय ब्याजदर बढ्यो, डलर अझ मजबुत भयो वा लगानीकर्ताले अन्यत्र आकर्षक अवसर देखे भने सुनको मूल्य घट्न सक्छ । सन् २०११ पछि केही वर्ष सुनको मूल्य घटेको इतिहासले देखाउँछ । बजार सधैँ एकै दिशामा चल्दैन ।
नेपालको अर्थतन्त्र आयातमुखी र विप्रेषणमा आधारित छ । विप्रेषण बढ्दा बजारमा तरलता बढ्छ, जसको केही अंश सुन खरिदमा जान्छ । विवाह र चाडपर्वको सिजनमा माग झन् उचालिन्छ तर सरकारले विदेशी मुद्रा सञ्चिति जोगाउन सुन आयातमा कडाइ गर्दा आपूर्ति घट्न सक्छ, जसले भाउमा थप दबाब सिर्जना गर्छ । यसरी नीतिगत निर्णयले पनि बजारलाई प्रभावित पार्छ ।
लगानी विविधीकरणको सिद्धान्त अनुसार सम्पूर्ण बचत एउटै माध्यममा राख्नु बुद्धिमानी हुँदैन । सुनलाई पोर्टफोलियोको सानो अंशका रूपमा राख्दा जोखिम सन्तुलित गर्न मद्दत मिल्छ । उदाहरणका लागि, सेयर बजार घट्दा सुन बढ्न सक्छ र समग्र पोर्टफोलियोको मूल्य स्थिर रहन सक्छ तर सबै पैसा सुनमा राख्दा अन्य सम्भावित उच्च प्रतिफलका अवसर छुट्न सक्छन् ।
अन्ततः सुनमा लगानी गर्ने वा नगर्ने निर्णय व्यक्तिगत आर्थिक लक्ष्य, जोखिम वहन क्षमता र समयावधिमा निर्भर गर्छ । यदि लक्ष्य दीर्घकालीन सम्पत्ति संरक्षण हो भने सुन उपयुक्त हुन सक्छ । यदि छोटो अवधिमा उच्च नाफा खोजिएको हो भने सुन सधैँ सही विकल्प नहुन सक्छ । बढ्दो मूल्यले उत्साह जगाउँछ तर विवेकपूर्ण विश्लेषणबिना गरिएको लगानी जोखिमपूर्ण हुन सक्छ । सुन चम्किलो छ, इतिहासले यसको महìव प्रमाणित गरेको छ तर सफल लगानीका लागि चमकभन्दा पनि सोच विचार र सन्तुलन आवश्यक हुन्छ ।