आज विश्व रेडियो दिवस । यसै सन्दर्भमा रेडियो क्षेत्रमा काम गर्नेहरूबिच यो साता विभिन्न छलफलका कार्यक्रम भइरहेका छन्, रेडियोकर्मीले आफ्ना दुःख सुखका विषय उठाइरहेका छन् । स्थानीय रेडियोले पछिल्लो समय नयाँ सञ्चार र प्रविधिको विकाससँगै अन्य सञ्चार माध्यमसँग प्रतिस्पर्धामा जानुपर्ने अवस्था छ । सामाजिक सञ्जाल र नयाँ मिडियाको विकाससँगै पहिलेको भन्दा रेडियोका श्रोता घट्दै गए पनि रेडियोले विश्वास भने कमाइरहेको छ । रेडियोको साख घटेसँगै धेरै स्थानीय एफएम रेडियो श्रोता र स्रोतको अभावमा बन्द हुन थालेका छन्, रेडियो नेपालले पनि श्रोता गुमाउँदै गएपछि प्रसारण गुणस्तर खस्कन थालेको छ ।
शिक्षा, मनोरञ्जन र जानकारी फैलाउने रेडियोलाई बचाउ अभियान गर्नुपर्ने अवस्था आएको छ । १६० भन्दा बढी स्थानीय एफएम रेडियो बन्द भइसकेका छन् । नीतिगत अप्ठेरा र आर्थिक सङ्कटका कारण मर्ने र बाँच्ने अवस्थामा पुगेका स्थानीय रेडियोले राज्यसँग बचाउने नीति अपनाइदिन आग्रह गरिरहेका छन् । एफएम प्रसारकले सङ्घर्ष समिति नै बनाएर रेडियो बचाउन सरकारको ढोका ढकढकाइरहेका छन् । हाम्रो जस्तो भौगोलिक र जातीय विविधता भएको देशमा स्थानीय रेडियोको अझै ठुलो भूमिका रहन्छ त्यसैले अहिले समग्र मिडिया सङ्कटमा परेको बेलामा स्थानीय रेडियोलाई जोगाउन सबैले सहयोग गर्नु पर्छ । स्थानीय रेडियोलाई कमजोर बनाउँदा समग्र लोकतन्त्र र विधिको शासनमा नै प्रभाव पर्ने देखिन्छ, भाषा संस्कृति लोप हुँदै जाने छन् ।
यथार्थ के हो भने सामाजिक सञ्जाल, अनलाइन मिडियाका कारण समग्र रेडियोप्रतिको आकर्षण कम भएको छ तर रेडियोले उठाउने विषय फरक छन्, धेरै काम गर्न बाँकी नै छन् । विश्वमा रेडियोको इतिहासले सय वर्ष पूरा गरेको भए पनि नेपाली माटोमै रेडियो स्टेसन स्थापना हुन धेरै वर्ष कुर्नु प¥यो । विसं २००७ मा औपचारिक रूपमै रेडियो नेपालले प्रसारण गरेपछि फेरि ४८ वर्ष कुर्नु प¥यो सामुदायिक रेडियोको सुरुवात हुन । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथाले २६ वर्ष पूरा गरिरहेको सन्दर्भसम्म आइपुग्दा नेपालमा ३८२ त्यस्तै अरू सामुदायिक रेडियो स्थापना भएका छन् । यो अवधिमा सामुदायिक र निजी क्षेत्रबाट सञ्चालनमा रहेका रेडियोले विविध आरोह अवरोह भोग्नु परेको छ ।
स्थानीय रेडियोले गरेको सङ्घर्ष र योगदानलाई कसैले पनि बिर्सन हुँदैन । हिजोको दिनमा रेडियोको क्रेज हुँदा सबैले रेडियोलाई सहयोग गर्दथे तर आज क्रेज घट्दै जाँदा रेडियोलाई सहयोग गर्नेहरू घट्न थालेका छन् । हिजो रेडियोको प्रसिद्धिकै कारण डाक्टर, इन्जिनियर, शिक्षक, कानुन व्यवसायी रेडियोमा समय लिएर कार्यक्रम सञ्चालन गर्दथे आज त्यो अवस्था क्रमशः घट्दै गएको छ ।
संविधानको अनुसूची ६ मा प्रदेशको अधिकार सूची अन्तर्गत ३ नम्बरमा रहेको रेडियो, एफएम, टेलिभिजन सञ्चालन र अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची अन्तर्गत ३ नम्बरमा एफएम सञ्चालन भन्ने व्यवस्थाले प्रदेश र स्थानीय सरकारलाई रेडियो सञ्चालनको अधिकार दिएको हो । यसलाई सरकार आफैँले रेडियो चलाउने अधिकारका रूपमा मात्रै बुझ्नु हुँदैन । यसैमा टेकेर पछिल्लो समय २५ भन्दा बढी स्थानीय तहले आफैँ रेडियो सञ्चालन गरे तर ती रेडियोले पनि राम्रो प्रसारण गर्न सकेनन्, समुदायको मन जित्न सकेनन् । स्थानीय तहको लगानीमा सञ्चालन भएका रेडियोलाई ‘स्थानीय सरकारी रेडियो’ भन्न सकिन्छ । ती सामुदायिक बन्न सक्दैनन् ।
अहिले तिनै तहका सरकारले गरेका कार्य र गतिविधि नागरिकसामु पु¥याउन स्थानीय एफएम रेडियोहरूले विषेश भूमिका खेलिरहेका छन्, सरकारका अभियानलाई सघाइरहेका छन् । नागरिकको सूचनाको हक पूरा गर्ने जिम्मेवारी सरकारको भए पनि सामुदायिक रेडियोहरूले आफैँले ती काम गरिरहेका छन् । स्थानीय सुशासन कायम गर्न सबैभन्दा महत्वपूर्ण भूमिका सूचनाको नै हुन्छ । सूचनाले कहाँ अनियमितता भयो र कहाँबाट केके सेवा दिइँदै छ भन्ने जानकारी प्राप्त हुन्छ । नागरिकलाई सरकारले दिने सुविधा कहाँबाट कति पाइन्छ, स्थानीय निकायमा आउने बजेट तथा योजनाको जानकारी सूचनाबाट नै थाहा पाएर नागरिकले त्यसमा निगरानी राख्न सक्छन् ।
स्थानीय तहमार्फत नागरिकले पाउने सेवा, त्यसको मापदण्ड, ऐन कानुन, नीति, बजेट र योजनाको बारेमा जानकारी गराउन एफएम रेडियो प्रभावकारी माध्यम हुन सक्छन् । नागरिकले आफूले सेवा सुविधा पाए/नपाएको, बजेट तथा योजना कार्यान्वयनमा आएको नआएको रेडियोमार्फत नै भन्ने गरेका छन् । कसरी सरकारले स्थानीय तहमा काम गर्छ र कसरी निर्णय लिन्छ, त्यसलाई कसरी कार्यान्वयनमा ल्याउँछ, त्यसमा कोको सहभागी हुन्छन् भन्ने जस्ता स्थानीय सुशासनका विषयको जानकारी गराउन स्थानीय रेडियोले प्रभावकारी काम गर्न सक्छन् । स्थानीय तहमा भएका रेडियोलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन सक्यो भने नै नागरिकको सूचनाको हकको प्रवर्धनमा रेडियोले सघाउन सक्छन् र स्थानीय सुशासनमा समेत टेवा पुग्छ । ती रेडियोको दिगोपनमा सहयोग गरेर उनीहरूलाई स्थानीय विकासमा केन्द्रित गर्ने खालको नीति अपनाउन सबैले सघाउ पु¥याउनु आवश्यक छ ।
देशभर खुलेका एफएम रेडियोले श्रोतालाई स्थानीय स्वाद दिनुका साथै नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने माध्यम दिएका छन् । ती रेडियोले स्थानीय भाषामा नागरिकले बुझ्ने गरेर सूचना तथा जानकारी प्रस्तुत गरिरहेका छन् । स्थानीय संस्कृतिको संरक्षणका साथै सकारात्मक सामाजिक रूपान्तरणमा समुदायिक रेडियो तथा स्थानीय रेडियोले महìवपूर्ण भूमिका खेलेका छन् । गाउँ तथा टोलमा भएका समस्यालाई नीतिगत तहमा ल्याउने पुलको काम ती रेडियोहरूले गरिरहेका छन् ।
मदिरा उत्पादक उद्योगले भन्दा बढी कर सामुदायिक रेडियोले तिर्नु परिरहेको छ । त्यसैले यस्ता विभेदकारी नीतिको परिवर्तन गर्न सरोकारवाला निकाय गम्भीर हुनु पर्छ । तिनै तहका सरकारले अहिले सञ्चालनमा रहेका एफएम रेडियोहरूलाई केही आर्थिक सहयोग गरेर विकास निर्माणको साझेदार र विकासको मूल्याङ्कन र अनुगमन गर्ने पहरेदारका रूपमा उपयोग गर्न सक्नु पर्छ । धेरै रेडियोकर्मी सोख र इच्छाशक्तिका कारण रेडियोमा काम गरिरहेका छन्, कोही स्वयंसेवा गरिरहेका छन् भने कोही व्यावसायिक रेडियोकर्मी बन्ने हिसाबले काम गरिरहेका छन् । उनीहरूका लागि गुणस्तरीय कार्यक्रम तथा रेडियो सामग्री उत्पादन गर्ने तालिमको आवश्यकता छ । त्यस्तो रेडियोकर्मीको क्षमता वृद्धिका लागि पनि स्थानीय तहले सहयोग गर्नु पर्छ ।
सामुदायिक रेडियोले बढीभन्दा बढी समुदायकै विषयलाई मसिनो ढङ्गले उठाउने हो भने रेडियो सुन्ने श्रोताको कमी हुँदैन । आफ्नो जिल्लाको राम्रो विषयवस्तु उठाएको छ भने विदेशमा रहेका जिल्लावासीले पनि खोजी खोजी सुन्छन् भन्ने विषयलाई रेडियोकर्मीले पनि बिर्सनु हुँदैन । प्रविधिमा आएको परिवर्तन र सामाजिक सञ्चालको कारण रेडियोको आवश्यकता घट्दै गएको भन्ने विश्लेषण भइरहेका बेलामा विकसित देशले रेडियोलाई अझै शक्तिशाली बनाउने नीति लिएका छन् भने श्रोताले पनि अन्य माध्यमबाट दिक्क भएर रेडियोमै फर्किन थालेको बताइरहेका छन् ।
आज रेडियो फरम्याटकै पडकास्ट प्रसिद्ध हुँदै गइरहेको छ । गाउँ घरमा अझै पनि इन्टरनेटको राम्रो पहुँच नभएको र गाउँमा बाँकी रहेको पाकापुस्तालाई रेडियो नै समय बिताउने साथी जस्तो भइरहेको छ । रेडियो सुन्ने बानी परेको पाकापुस्ताले अझै रेडियो सुन्ने गरेको बताइरहेको विभिन्न सर्वेक्षणबाट प्रस्ट हुन्छ । ‘सेयरकास्ट इनिसिएटिभ’ ले गरेको ‘मिडिया ल्यान्डस्केप सर्भे’ मा अझै पनि सत्य तथ्य समाचार हो कि होइन भनी रेडियो सुनेर प्रस्ट हुने गरेको धेरै श्रोताले बताएका विषय उल्लेख छ । विश्वभर इन्टरनेटमा आधारित सञ्चार माध्यम र सोसल मिडियाको बढ्दो प्रभाव र फैलिँदो मिथ्या सूचनाबिच अस्तित्वको लडाइँ लडिरहँदा सामुदायिक आमसञ्चार माध्यमले देखेको प्रमुख अवसर भनेको प्रविधिलाई आत्मसात् गरेर स्थानीय भाषा, कला, संस्कृति र समसामयिक विषयवस्तुमा आधारित उपयोगी स्थानीय समाचार सामग्रीको प्राथमिकता हो ।
नेपालमा पनि सामुदायिक रेडियोहरूले आफूलाई समयसापेक्ष रूपमा प्रविधिले ल्याएको अवसरलाई सदुपयोग गर्न सक्नु पर्छ । बढ्दो मिथ्या सूचना जस्ता अवाञ्छित अवस्थाविरुद्ध सूचना सम्प्रेषण गरी आफूलाई विश्वसनीय माध्यमका रूपमा उभ्याउन सके सामुदायिक रेडियोको महत्व र आवश्यकता दीर्घकालसम्म कायम रहने छ । नेपालमा पनि स्थानीय रेडियोले आफूलाई रूपान्तरण गरी विषयवस्तु श्रोताको चाहना अनुसार पस्किन सके रेडियो बाँचिरहन सक्ने छ । धेरै स्थानीय रेडियोले भिडियो र डिजिटल कन्टेन पनि उत्पादन तथा वितरण गर्न थालेर आफूलाई डिजिटल सञ्चार माध्ययमका रूपमा रूपान्तरण गर्ने प्रयत्न गरिरहेका छन्, यसले रेडियोको बदलिँदो मार्गलाई प्रस्ट पारेको छ । सामुदायिक रेडियो पनि सामुदायिक सञ्चार माध्यमका रूपमा विकसित भएर संस्थालाई बचाउने बाटोमा सङ्घर्ष गरिरहेका छन् ।