हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २९ गते । मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी स्थानीय तहको निर्वाचनका मतदाता शिक्षा अनुगमनकर्तालाई प्रशिक्षण दिइएको छ ।
एक निर्वाचन क्षेत्र रहेको मुस्ताङका पाँच स्थानीय तहमा मतदाता शिक्षा सञ्चालनका लागि अनुगमनकर्तालाई प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो । निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो, ‘‘अनुगमनकर्ताले पालिकास्तरमा छनौट भएकालाई तालिम दिनुहुन्छ, मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनेगरी स्वंयमसेवकलाई परिचालन गरिनेछ ।’’
बि.स २०७९ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनमा प्रत्यक्षतर्फ ८७ मत र समानुपातिकतर्फ २ मत बदर भएको थियो । आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागि मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवीलाई स्वयंसेवक नियुक्त गरिएको छ । मुस्ताङमा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।
मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारेमा मतदातालाई जानकारी गराउने छन् । थोरै मतदाता रहेकाले यस जिल्लामा मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।