सिराज खान
नेपालगन्ज, माघ २९ गते । यहाँस्थित नेपाल–भारत सीमापारी भारतको रूपईडीहा प्रहरीले नेपाल र भारतमा मोटरसाइकल चोरी गर्ने तीनजना नेपालीलाई चोरीका दश थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।
भारतीय प्रहरीको विशेष अभियानका क्रममा तीन नेपाली नागरिकलाई पक्राउ गरी विभिन्न स्थानबाट चोरी भएका १० थान मोटरसाइकल बरामद गरिएको रुपैडिहा प्रहरी थानाका इन्चार्ज प्रहरी निरीक्षक रमेशसिंह रावतले बताउनुभयो ।
उहाँले रुपैडिहास्थित आईसीपी चोकबाट पचपकडीतर्फ गस्ती गर्दैगर्दा प्रहरीले एक मोटरसाइकलमा सवार तीन संदिग्ध व्यक्तिलाई रोक्ने प्रयास गरेकोमा उनीहरु भाग्न खोज्दा नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोरीबारे खुलासा भएको बताउनुभयो ।
प्रक्राउ परेकाहरुमा बाँके जिल्ला डुडुवा गाउँपालिका –४ मलऊपुरवाका शाहरुप खाँ, अरमान खाँ र नफीस खाँ रहेको र उनिहरुसँग कडाईका साथ सोधपुछ गर्दा उनीहरु सवार मोटरसाइकल चोरीको रहेको तथा चकिया जंगलको झाडीमा लुकाएर राखेका अन्य ९ वटा चोरीका मोटरसाइकल पनि बरामद गरिएको रुपैडिहा प्रहरी थानाका प्रमुख रावतले बताउनुभयो ।
बरामद गरिएका मोटरसाइकल भारत बहराइचका विभिन्न थाना (नानपारा, रिसिया, रामगाउँ, कोतवाली आदि) तथा लखनऊ, लखीमपुर खीरी, गोण्डा र नेपालगन्ज लगायतका स्थानबाट चोरी भएका रहेको जनाइएको छ ।
तीमध्ये केही मोटरसाइकलमा नेपाली नम्बर प्लेट जडान गरी प्रयोग गरिएको समेत पाइएको थाना प्रमुख रावतले बताउनुभयो । गत केही समय यता आएर बाँकेको नेपालगन्ज, खजुरा र राँझा लगायतका क्षेत्रबाट पनि मोटरसाइकल चोरीका घट्नाहरु बढेको स्थानीयको भनाइ छ ।