• २९ माघ २०८२, बिहिबार

गोलिया काठमा आगलागी, करोड रुपियाँको क्षति

blog

घाटगड्डी गरिराखेको सालका गोलियामा लागेको आगो । तस्बिरः यादवराज पुरी

यादवराज पुरी

रौतहट, माघ २९ गते । अज्ञात समूहले रौतहटको एक सामुदायिक वनमा जम्मा गरेको सालका काठमा आगलागी हुँदा एक करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।  

चन्द्रपुर नगरपालिका –२ जुडिबेलामा रहेको नमुना सामुदायिक वनले ६ वर्षअघि कटान गरेर घाटगड्डी गरिराखेको करिब आठ हजारभन्दा बढी घनफिट सालका गोलियामा आगलागी हुँदा एक करोड रुपियाँभन्दा बढी क्षति भएको हो । 

आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन उपभोक्ता समूहका सदस्यलाई हम्मे परेको थियो । उपभोक्ताका माग र आवश्यकता पूरा गर्न कटान गरी घाटगड्डी गरिएको उक्त परिमाणको काठको लेखापरीक्षण र साधारणसभा नगरेको कारण उपभोक्ताले खरिद गर्न समेत नपाएको उपभोक्ताकै गुनासो छ । 

समयमै काठ बिक्री नुहनु, वन गस्ती सक्रिय नहुनु र उपभोक्ता जागरुक नहुनुले पनि अज्ञात समूहले आगलागी गरेको हुन सक्ने वन समितिका सदस्यले बताउनुभयो ।  २०७६ सालमा चारसय केभी लाइन विस्तारको क्रममा काटिएका ती सालका गोलियामा आगलागी भएको सवडिभिजन वन कार्यालय जुडिबेलाका अधिकृत बालकिशोर सिंहले जानकारी दिनुभयो । 

उहाँकाअनुसार उक्त सामुदायिक वन समूहलाई अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न गरेको पत्राचारले साधारण सभा र लेखापरीक्षण हुन नसक्दा काठ बिक्री भएको थिएन ।  

करिब पाँच घण्टा जति लागेको आगोको जानकारी समयमा नपाउँदा क्षति बढेको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले बताउनुभयो । उहाँकाअनुसार प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ । आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रयास गरिरहेको प्रहरीको भनाइ छ ।