• २९ माघ २०८२, बिहिबार

मुलुकभर एकै चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की

blog

प्रधानमन्त्री सुशीला कार्कीलाई स्वागत गर्दै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलालगायत ।

सन्तोष राउत

सोलुखुम्बु, माघ २९ गते । आसन्न फागुन २१ को निर्वाचनको लागि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु आइपुग्नुभएको छ । चुनावी तयारी तीव्र बनाएको सरकारले निर्वाचनको माहोल तथा मौसमका कारण गर्नुपर्ने तयारीका बारेमा बुझ्न प्रधानमन्त्री कार्कीसहितको टोली हेलिकप्टरबाट नाम्चे हुदै सदरमुकाम सल्लेरी आएको हो । 

प्रधानमन्त्री कार्कीले अहिलेसम्मको अवस्थामा मुलुकभर एकै चरणमा निर्वाचन हुने बताउनुभयो । 'हामीले निर्वाचन भयरहित, धाँदलीरहित, स्वच्छ र निष्पक्ष होस् भन्ने चाहेकाछौँ', प्रधानमन्त्री कार्कीले भन्नुभयो । जनताले आफ्नो खुसीले मतदान गरी प्रतिनिधि छान्न सक्ने वातावरण सबैले बनाउनुपर्ने उहाँको भनाइ छ । 

सरकारको सिंगो ध्यान निर्वाचन सफल पार्न केन्द्रित रहेकाले निर्वाचनको मितिबारे कुनै शंका नगर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले हिमाली क्षेत्रको भौगोलिक कठिनाइलाई ध्यानमा राखेर आवश्यक तयारी भइरहेको र सुरक्षाको दृष्टिकोणले समेत सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री कार्कीलाई जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्ड र सुरक्षा निकायका जिल्ला प्रमुखले स्वागत गर्दै निर्वाचनको समग्र अवस्थाका विषयमा जानकारी गराउनुभएको छ । प्रधानमन्त्री कार्कीको टोलीमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल हुनुहुन्छ ।

जिल्लको माथिल्लो खुम्बु क्षेत्रमा चुनावको समयमा हिमपात हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको अवस्था बुझ्न आएको प्रधानमन्त्रीको टोलीले समस्या नहुने निष्कर्ष निकालेको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरुले गरेका छन् ।

जिल्लामा १२३ मतदान स्थल छन् । यदि हिउँ परिहालेमा सातवटा मतदान स्थल प्रभावित हुनेछन् । ती सातमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथि पर्दछन् । अहिलेसम्म ती मतदान स्थल सामान्य अवस्थामा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने योजना छ ।