राजु लामिछाने
रुकुमपश्चिम, माघ २९ गते । रुकुमपश्चिमका युवाहरूले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रूपमा अस्वस्थ व्यक्ति तथा अस्वस्थ मतदाताको मतदान प्रक्रियालाई सहज बनाउनुपर्ने माग गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनीहरूले सहज र विशेष मतदान प्रक्रियाको माग गरेका हुन् । युवा मानव अधिकार रक्षक सञ्जालमा आबद्ध मुसीकोट नगरपालिका–६ का युवा सौगात गौतमले प्रत्येक मतदान स्थलमा सबै नागरिकले समान र सम्मानजनक व्यवहार र व्यवस्था पाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनका बेला सामान्य नागरिकसँगै अपाङगता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, गर्भवती, शारीरिक रूपले अशक्त र अस्वस्थ मतदाताहरू पनि सहभागी हुने भएकोले उनीहरूलाई सजिलोगरी मतदान प्रक्रियामा सहभागी गराइनुपर्ने जनाउनुभयो ।
बाँफिकोट गाउँपालिका–७, मग्माकी लक्ष्मी खत्रीले मतदानको बेला पछाडी परेका वा पारिएका व्यक्तिहरू, शारीरिक रूपले अशक्त व्यक्तिहरूलाई विशेष सुविधा दिनुपर्ने बताउनुभयो । उहाँले उक्त कुराको सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएको जनाउनुभयो ।
विभिन्न छ बुँदाहरू राखेर प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी समक्ष ज्ञापनपत्र बुझाएको र मागहरूको सम्बोधनका लागि पहल गर्ने प्रतिक्रिया पाएको उहाँले जानकारी दिनुभयो । ज्ञापनपत्रमा मतदान स्थलमा प्राथमिक उपचारको अनिवार्य व्यवस्था, आकस्मिक अवस्थामा हुनसक्ने बिरामीहरुका लागि दक्ष स्वास्थ्यकर्मीको उपस्थितीको सुनिश्चितता र फरक क्षमता भएका, जेष्ठ नागरिक, अस्वस्थ तथा गर्भवतीका लागि सुरक्षा र सहयोगको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी फरक क्षमता भएका तथा शारीरिक रूपमा अशक्त मतदाताहरूलाई स्टेचर तथा ह्विलचियरको व्यवस्था गर्नुपर्ने, प्रत्येक मतदान स्थल नजिक एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने र त्यस्ता मतदाताहरूको आवतजावत सहज बनाउन विशेष सहजीकरण गर्नुपर्ने माग राखिएको छ ।
मागहरू कार्यान्वयनका लागि स्थानीय सरकार, नीजि अस्पतालहरू, पर्यवेक्षकहरू समेतलाई सहकार्य र समन्वयमार्फत जिम्मेवार बनाउन सकिने समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।