अर्घाखाँची, माघ २९ गते । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा अगाडि बढाउने योजनाका साथ कांग्रेस चुनावमा होमिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस मालारानी गाउँपालिकाले खनदहमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति भुसालले उक्त कुरा बताउनुभएको हो ।
सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवाका लागि अवसर सिर्जना गर्ने नीति कांग्रेसले अघि सारेको उहाँको दाबी छ । कांग्रेसको प्राथमिकता युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु रहेको उहाँ उल्लेख गर्नुहुन्छ ।
युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै स्वरोजगार बनाउने नीति नै कांग्रेसको पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
पूर्व उपसभामुखसमेत रहनुभएकी भुसालले वि.सं. २०६४ पछि नेपाली कांग्रेसले कुनै पनि समय स्पष्ट बहुमतको सरकार बनाउन नसकेकाले जनताका अपेक्षा अनुसारका काम पूरा गर्न कठिनाइ भएको स्वीकार गर्नुहुन्छ । बहुमतको अभावमा जनचाहना र मागहरू पूर्णरूपमा सम्बोधन हुन नसकेको उहाँ बताउनुहुन्छ ।
कांग्रेस सधैँ लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।