• २९ माघ २०८२, बिहिबार

दबाबबिच इयु नेताको रणनीतिक बैठक

blog

बेल्जियम, माघ २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेता बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् । 

बढ्दो भू–राजनीतिक चुनौतीले कूटनीति, रक्षा र व्यापारप्रतिको युरोपको दृष्टिकोण पुनर्विचार गर्न बाध्य बनाएको छ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले ‘हामीले मार्ग परिवर्तन गर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर कहिलेकाहीँ जहाजको पुलमा उभिएर दिशा समात्न नसकेको अनुभूति हुन्छ’ भन्दै परिस्थितिको गम्भीरता व्यक्त गर्नु भएको छ । 

बिहीबारको छलफलले मार्च अन्त्यमा हुने अर्को शिखर सम्मेलनका लागि ठोस प्रस्ताव तयार गर्ने अपेक्षा गरिएको छ । जर्मन चान्सलर फ्रेडरिक मेर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले वासिङ्टनसँग सम्बन्ध पुनर्जीवित गर्दै दक्षिण अमेरिकाका मर्कोसुर राष्ट्रसँग जस्तै थप व्यापार सम्झौतामार्फत नियन्त्रण मुक्त र खुला अर्थनीति अघि बढाउनुपर्ने धारणा राख्नु भएको छ । मेर्जले ‘हामीले प्रत्येक क्षेत्रमा नियमन घटाउनुपर्छ’ भन्नुभएको छ ।

तर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग यस विषयमा मतभेद देखिएको छ । रक्षा खर्चको कति भाग इयुका हतियार कम्पनीबाटै खरिद गर्नुपर्ने भन्नेमा विवाद छ । म्याक्रोनले युरोपेली कम्पनीलाई प्राथमिकता दिनुपर्ने तर्क गर्नु भएको छ भने मेर्ज र मेलोनीले विदेशी तथा युरोपेली दुवै स्रोतबाट खरिद खुला राख्नुपर्ने बताउनु भएको छ ।

म्याक्रोनले क्लिनटेक, रसायन, इस्पात, अटो उद्योग र रक्षा क्षेत्रमा ‘युरोपेली प्राथमिकता’ लागु गरी उद्योग जोगाउनु पर्ने धारणा सार्वजनिक गर्नु भएको छ । “चिनियाँ र अमेरिकीले आफ्ना उद्योग जोगाउँछन्, हामीले पनि गर्नु पर्छ”, उहाँले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँगको अन्तर्वार्तामा उल्लेख गर्नु भएको छ । अनुचित प्रतिस्पर्धाको सामना गरिरहेको युरोपले रणनीतिक क्षेत्रमा सुरक्षात्मक नीति अपनाउनु पर्ने उहाँको भनाइ छ ।

नेताले ट्रम्पको कर र चीनद्वारा महत्त्वपूर्ण खनिज निर्यातमा लगाइएको प्रतिबन्धको सन्दर्भमा विश्व व्यापार प्रणालीमा इयुको हित जोगाउन नयाँ वित्तीय उपकरणबारे पनि छलफल गर्दै छन् । म्याक्रोनले ‘भविष्यका लागि युरोबन्ड’ मार्फत सामूहिक ऋण सङ्कलन गरी डलरको वर्चस्वलाई चुनौती दिनुपर्ने प्रस्ताव दोहोर्याउनु भएको छ ।

यसबिच, जर्मनी र इटालीले युरोपेली आयोगको प्रशासनिक झन्झट घटाउने, एकल बजार सुदृढ गर्ने र साझा नियममा आधारित महत्त्वाकांक्षी व्यापार नीति अघि बढाउने आह्वान गर्नु भएको छ । यो दृष्टिकोण युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लेयनको आर्थिक सुरक्षा एजेन्डासँग मेल खान्छ । उहाँले आर्थिक शक्ति नै विश्व मञ्चमा प्रभावको आधार भएको बताउनु भएको छ ।

आधिकारिक युरोबेरोमिटर सर्वेक्षण अनुसार सैन्य, आर्थिक र जलवायु जोखिमबिच नागरिक अझ सुदृढ र एकीकृत युरोपेली नेतृत्वको अपेक्षा गरिरहेका छन् । एचइसी पेरिसका प्राध्यापक अल्बर्टो अलेमानोले अहिलेको समय युरोपेली नेताले व्यापक युरोपेली कारबाहीको मागलाई मूर्त रूप दिन सक्ने उपयुक्त अवसर भएको बताउनु भएको छ । यो बैठकले इयुको भावी दिशा, आर्थिक आत्मनिर्भरता र सुरक्षा रणनीतिलाई पुनः परिभाषित गर्ने सङ्केत दिएको छ । रासस/एपी