• २९ माघ २०८२, बिहिबार

‘राष्ट्रियताको रक्षाका लागि गठबन्धन’

blog

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह । तस्बिरः नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), माघ २९ गते।
बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले सम्बोधन गर्नुभएको छ।

नेपालको कम्युनिष्ट राजनीतिक मञ्चमा विरलै देखिने दृश्यका रूपमा बागलुङमा प्रचण्ड र मोहन विक्रम सिंह एउटै उद्देश्यका साथ एउटै मञ्चमा देखिएका हुन्। प्रचण्डले यस क्षणलाई ऐतिहासिक भएको बताउनुभयो।

“हामी दुई जना एउटै मञ्चमा विरलै हुन्छौँ। मोहन विक्रम सिंहजीसँगको यो क्षण ऐतिहासिक हो,” उहाँले भन्नुभयो।

प्रचण्डले बागलुङमा आएर ‘गिलास’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीलाई जिताउन अपिल गर्नुभयो। उहाँले यो चुनावी सहकार्य मात्र नभई राष्ट्रिय रूपमा कम्युनिष्ट एकताको सकारात्मक सन्देश भएको बताउनुभयो।

जेन्जी आन्दोलन पवित्र उद्देश्यका साथ गरिएको भए पनि भदौ २४ गतेको आन्दोलन विदेशी तत्वबाट ‘हाइज्याक’ भएको दाबी गर्दै प्रचण्डले ढिलो–चाँडो नेपालका कम्युनिष्ट पार्टीहरू एक हुनु आवश्यक रहेको बताउनुभयो। उहाँले आन्दोलनकै कारण मुलुक निर्वाचनमा गएको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचन नजिकिँदै जाँदा कम्युनिष्ट पार्टीहरूतर्फ जनलहर सिर्जना भइरहेको दाबी गर्नुभयो।

“निर्वाचनको परिणाम जनताले चाहेजस्तै हुन्छ, प्रतिक्रियावादीले चाहेजस्तो हुन नेपाली जनताले दिँदैनन्,” उहाँले भन्नुभयो।

मोहन विक्रम सिंहले पनि राजनीतिक संकट टार्न निर्वाचनमा जानुपरेको बताउनुभयो। युवाहरूको आन्दोलन पवित्र भए पनि आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै उहाँले नेपाललाई अस्थिर बनाउन विदेशी तत्व सक्रिय रहेको बताउनुभयो। नेपालको भविष्य जोगाउन कम्युनिष्टहरू एक हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले राष्ट्रियताको रक्षाका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आधार इलाकाका रूपमा रहेको बागलुङ क्षेत्र नम्बर १ मा नेकपाले जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’लाई समर्थन गरेको छ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा र नेकपाका बागलुङ क्षेत्र नम्बर १ का साझा वाम उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीको निर्वाचन प्रतिबद्धतापत्र प्रचण्ड र मोहन विक्रम सिंहले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो।