• २३ माघ २०८२, शुक्रबार

फागुन २१ को निर्वाचनमा कांग्रेसलाई कसैले रोक्न सक्दैन: सभापति थापा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

काठमाडौँ, माघ २३ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्‍याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई कसैले रोक्ने नसक्ने बताउनुभएको छ।

शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले उक्त दाबी गर्नुभएको हो। उहाँले आगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहने उल्लेख गर्दै सोहीअनुसार मिहिनेत गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।

उहाँले विगतको निर्वाचनमा कांग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको योजनाबारे जानकारी दिनुपर्ने बताउनुभयो। 'जेन–जी' (नयाँ पुस्ता) सँग समेत छलफल गर्ने गरी आफूहरू अघि बढिरहेको उहाँको भनाइ थियो। उहाँले पार्टीभित्र रहेका असन्तुष्टि र मतभिन्नताका समस्या समेत निर्मूल हुँदै गइरहेको उल्लेख गर्नुभयो। निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,“आजको दिनमा हाम्रो सन्देश मात्रै ठीक ढङ्गले घरघरमा पुर्‍याउन सक्ने हो भने नेपाली कांग्रेसले शानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन। जित भइसक्यो भन्ने होइन, यो तपाईं र ममा भर पर्छ। तल मतदाता छन्, उनीहरूले आजको दिनमा के सोचिरहेका छन् भन्ने बुझ्न आवश्यक छ। २७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीसँग रिसाएकै बेला पनि मत हालेका थिए। नवपुस्तासँग पनि हामीले जोडिनुपर्नेछ। सबैजना उम्मेदवारजस्तै खटिएर हाम्रो सन्देश पुर्‍याउने हो भने यो निर्वाचनमा सबैभन्दा शानदार परिणाम ल्याउनबाट हामीलाई कसैले रोक्न सक्दैन।”

सभापति थापाले अबको सरकार कांग्रेसको मात्र हुने नभनी ‘अबकी बार सय पार’ को नारा लगाउन समेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ।