• २३ माघ २०८२, शुक्रबार

विकटका विद्यार्थीलाई छात्रावास

blog

ज्ञानु पंगेनी

मध्यविन्दु, माघ २३ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुर धौवादीमा अवस्थित शिक्षा बोधनी माध्यमिक विद्यालयमा छात्रावास स्थापना भएपछि पहाडी तथा भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीहरूलाई ठूलो टेवा पुगेको छ । 

दुर्गम बस्तीका बालबालिकालाई गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले निर्माण गरिएको छात्रावासले विद्यार्थीहरूको पठनपाठनमा निरन्तरता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

पहाडी भू–बनोट, असहज बाटो तथा लामो दूरीका कारण दैनिक घण्टौँ पैदल यात्रा गर्दै विद्यालय पुग्नुपर्ने, नभए बाध्यतावश पढाइ नै त्याग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न छात्रावासले ठूलो सहयोग पुर्‍याएकाे छ । 

गाउँपालिकाले २०७७ सालमा छात्रावास स्थापना गरी २०७८ सालबाट सञ्चालनमा ल्याएको हो । सुरुका वर्षहरूमा विद्यार्थीलाई छात्रावासमा राख्न अभिभावकलाई मनाउनसमेत गाह्रो भएको अनुभव विद्यालयका प्रधानाध्यापक तुलबहादुर रानाले सुनाउनु भयो । छात्रावास स्थापनापछि आफ्ना छोराछोरीको पढाइ सहज भएपछि अहिले भने अभिभावकहरू खुसी भएको उहाँले बताउनुभयो ।

हाल छात्रावासमा २३ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन्, जसमा १४ जना छात्र र ९ जना छात्रा रहेका छन्। घर नजिकै माध्यमिक तहको विद्यालय नहुँदा दैनिक तीन–चार घण्टासम्म पैदल हिँडेर पढ्न जानुपर्ने बाध्यता खेप्दै आएका विद्यार्थीहरूका लागि छात्रावास वरदान सावित भएको छ ।

यस विद्यालयमा छिमेकी पालिका बौदीकाली गाउँपालिकाको वडा नं. ६ मा पर्ने लाहापे गाउँबाट समेत विद्यार्थीहरू पढ्न आउने गर्दछन् । विद्यालयबाट उक्त गाउँको दूरी करिब १० किलोमिटर छ । हिँडेर आउन सम्भव नहुने र चार–पाँच घण्टा लाग्ने भएकाले, नजिकै कक्षा १० सम्म पढ्न सकिने अन्य विद्यालय पनि नहुँदा विद्यार्थीहरू पालिकाको मुकाम डेढगाउँ वा जिल्ला सदरमुकाम कावासोतीमा भाडामा बसेर पढ्नुपर्ने अवस्था थियो । भाडामा राखेर पढाउन नसक्ने अभिभावकका छोराछोरी शिक्षाबाट नै वञ्चित हुनुपर्ने अवस्था थियो । यही समस्याको समाधान गर्न पालिकाले यहाँ छात्रावास स्थापना गरेको हो । 

छात्रावासमा बस्ने विद्यार्थीहरू हुप्सेकोट–५ अन्तर्गत पर्ने पाङ्ग्रे, हर्दे तथा बौदीकाली गाउँपालिकाको लाहापे क्षेत्रका हुन् । यी ठाउँबाट विद्यालय पुग्न तीनदेखि चार घण्टा पैदल हिँड्नुपर्छ । 

कक्षा १० मा अध्ययनरत छात्रा रिम सारु लाहापेकी हुनुहुन्छ ।  उहाँ विगत तीन महिनादेखि छात्रावासमा बस्दै आउनुभएको छ । छात्रावासमा बसेर पढ्न पाउँदा धेरै सहज भएको उहाँले बताउनु भयो ।  ‘घरबाट हिँडेर आउँदा धेरै समय लाग्थ्यो, अहिले छात्रावासमा बस्न पाउँदा समय बचत भएको छ र पढाइमा ध्यान केन्द्रित गर्न सजिलो भएको छ,’ सारुले भन्नुभयो ।

पाङ्ग्रे घर भएका कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी लेखबहादुर बाह्रघरेले पनि छात्रावासमा बसेपछि अध्ययनमा सहयोग पुगेको र हिँडेर आउजाउ गर्ने समय बचेको बताउनुभयो । उहाँ विगत ६ महिनादेखि छात्रावासमा बस्दै आउनुभएको छ ।  यसअघि उहाँ दैनिक तीन घण्टा हिँडेर विद्यालय आउजाउ गर्नुहुन्थ्यो । ‘हिँडेर आउजाउ गर्दा थकाइ लाग्थ्यो, घर गएर फेरि पढ्न र होमवर्क गर्न सकिँदैनथ्यो, पढाइमै बाधा पथ्र्यो , अहिले भने निकै सहज भएको छ,’ बाह्रघरेले भन्नुभयो । 

विशेषगरी दुर्गम तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा पहुँच पु¥याउन यस छात्रावासले सहयोग पुर्‍याएकाे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख माधवराज गौतमले बताउनुभयो ।  छात्रावासमा बसोबास गरी अध्ययन गर्ने विद्यार्थीहरूको खानपान, आवास तथा दैनिक आवश्यकताका लागि प्रत्येक वर्ष रासन खर्च बापत बजेट विनियोजन गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

यस व्यवस्थाले विद्यार्थीहरूको नियमित उपस्थिति, अध्ययनमा निरन्तरता तथा शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । शिक्षामा पहुँच विस्तार, विद्यार्थी पलायन रोकथाम तथा ग्रामीण क्षेत्रका बालबालिकालाई समान अवसर प्रदान गर्ने दृष्टिले धौवादीको छात्रावास नमूना परियोजनाका रूपमा स्थापित हुँदै गएको गौतमले बताउनुभयो ।