• २१ माघ २०८२, बुधबार

लाहुरे हुने सपना बोकेर बेपत्ता तुलाचन ५५ वर्षपछि परिवारको काखमा

blog

नागरिकता बनाउन जिल्ला प्रशासन आउनुभएका तुलाचन दाजुभाइ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । २१ वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता हुनुभएका तुलाचन अहिले परिवारको सम्पर्कमा आउनुभएको हो । घर फर्किएपछि अहिले तुलाचनको परिवारमा खुसी छाएको छ । 

भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एक साता अगाडि विभिन्न माध्ययमबाट परिवारको सम्पर्कमा आएको उहाँका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताउनुभयो ।

‘हामी अहिले मङ्गला गाउँपालिका–५, पाखुमा बस्दै आएका छाैँ’, तुलाचनले भन्नुभयो, ‘‘लाहुरे हुने भनेर गएको भाइ घर आउने आशा नै मारेका थियौँ । बुढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्ययमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ ।’’

कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुसीयाली छाएको छ । धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आउनुभएको छ ।

तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारी साधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताउनुभयो ।