• २१ माघ २०८२, बुधबार

मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न पहल गर्छु : स्वास्थ्यमन्त्री गौतम

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम । फाइल तस्बिर ।

काठमाडाैँ, माघ २१ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । 

बुधबार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री गौतमले मानसिक रोगका बिरामीलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रस्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले निर्वाचन आचारसंहिताका कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बताउनुभयो । 

मन्त्री गौतमले भन्नुभयो, ‘उहाँले यसलाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा यो अस्पताललाई विकास गरौं भन्नुहुन्छ । हाम्रो समाजमा मानसिक स्वास्थ्य र मानसिक अस्पताल भन्न साथै बिरामी मनोरोगी भन्न साथै एक प्रकारको स्टिग्मा छ । जुन जसलाई अलि हेय भावले त्यस्ता बिरामीलाई हेर्ने प्रचलन छ । जुन सरासर लगत कुरा हो । किनभने जसरी ब्लड प्रेसर बढयो अथवा चिनीको विरामी भयो, अथवा क्यान्सरको बिरामी भयो । त्यस्तै प्रकारले हाम्रो सम्पूर्ण सरिरलाई रेगुलेट गर्ने जुन हाम्रो ब्रेन हुन्छ, माइन्ड हुन्छ । त्यसमा तलमाथि पर्न र उपचारको आवश्यकता पर्नु यो सामान्य कुरा हो । तर त्यसलाई हामीले नबुझेर धेरै हेयभावले हेर्दछौँ । जुन गलत हो । त्यसले गर्दा यो राष्ट्रिय मनोस्वास्थ्य केन्द्र भन्यो भने अस्पताल भन्ने स्टिग्माबाट यो हट्छ भन्ने उहाँको सोच छ । यो मलाई सही लागेको छ। अहिले त आचारसंहिता लगायत विभिन्न कुराहरू छन् । मैले कतिको सकुला, त्यो मलाई थाहा छैन । तर म प्रयास निकै गर्छु । अब आउने सरकारले त्यो काम गरिदेओस । यसको उपचारको क्रममा देखिएका स्टिग्मा हटाउने प्रयास गरिदेओस् भनेर म फेरि पनि आउने सरकारलाई म भन्न चाहन्छु ।"

मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरूको सङ्ख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयो ।