पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ २१ गते । पश्चिम नवलपरासी क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि दुई पूर्व शिक्षामन्त्री मैदानमा उत्रिएपछि चुनावी माहोल निकै तातेको छ। नेकपा (माओवादी केन्द्र) को पृष्ठभूमिबाट हाल नेकपाको साझा उम्मेदवार बनेका देवेन्द्र पौडेल (सुनील) र मधेशी राजनीतिबाट उदाएका राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार गोविन्दप्रसाद चौधरी बिचको यो प्रतिस्पर्धालाई यस क्षेत्रको सबैभन्दा रोचक प्रतिस्पर्धाको रूपमा हेरिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ राजनीतिक चर्चाको केन्द्र बनेको छ। दुई जना पूर्व शिक्षामन्त्री-फरक राजनीतिक स्कुलिङ र एजेन्डासहित-एउटै चुनावी मैदानमा आमनेसामने भएपछि यहाँको प्रतिस्पर्धा रोचक मात्र होइन, प्रतिष्ठाको लडाइँ समेत बनेको छ।
देवेन्द्र पौडेल (सुनील)
लामो समय आफ्नो राजनीतिक किल्ला बनाएका नेकपाका नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल यसपटक पश्चिम नवलपरासी–२ बाट चुनावी मैदानमा हुनुहुन्छ । माओवादी केन्द्रको पृष्ठभूमिबाट हुदै हाल यस पटक नेकपाको उम्मेदवार बन्नुभएको हो । दुई पटक सांसद चुनिएका पौडेलसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेको अनुभव छ।
आफू द्वन्द्वकालमा यस क्षेत्रको इन्चार्ज रहँदा यहाँको भूगोल र समस्यासँग भिजेको भन्दै मतदाता फकाउने रणनीति लिनुभएकाे छ । उहांले चुनावी प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिसक्नुभएको छ ।
गोविन्द चौधरी
अर्कोतर्फ, राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट पूर्व शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री गोविन्दप्रसाद चौधरी चुनावी दौडमा हुनुहुन्छ । विभिन्न मधेश केन्द्रित दलहरू हुँदै अहिले राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका चौधरीसँग पनि शिक्षा राज्यमन्त्रीको रूपमा कार्य गरेको अनुभव छ। चौधरीले सामाजिक न्यायको मुद्दालाई मुख्य एजेन्डा सार्वजनिक गरिसक्नुभएको छ। । उहाँले विशेषगरी स्थानीय पहिचान र अधिकारका पक्षधर मतदाताहरूको समर्थन बटुल्न सक्रिय हुनुहुन्छ ।
दुवै उम्मेदवार शिक्षा क्षेत्रको नीति निर्माण तहमा पुगिसकेका व्यक्ति हुन्। मतदाताले कसको कार्यकाल र अनुभवलाई बढी विश्वास गर्छन् भन्ने नै जितको मुख्य कडी हुने देखिन्छ । पौडेलले विकास र समृद्धिलाई एजेन्डाको अग्रभागमा राख्नुभएको छ। भने चौधरीले पहिचान र मुक्तिलाई प्राथमिकता चुनावी एजेन्डाको अग्रभागमा राख्नुभएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ अन्तर्गत सुनवल, रामग्राम, सरावल र पाल्हीनन्दन जस्ता पालिकाहरू पर्दछन्। यहाँको डुबान समस्या, उखु किसानका मुद्दा र शैक्षिक बेरोजगारी चुनावी चर्चाका मुख्य विषय हुन्। पूर्व मन्त्रीहरू नै मैदानमा भएपछि यस क्षेत्रले पावरफुल प्रतिनिधि पाउने आसमा स्थानीय देखिन्छन्।
पूर्व मन्त्रीहरू नै मैदानमा भएपछि यस क्षेत्रले केन्द्रमा पहुँच राख्ने प्रतिनिधि पाउने आसमा स्थानीय बासिन्दाहरू देखिन्छन् । फागुन २१ को नतिजाले कसको अनुभव र एजेन्डालाई मतदाताले सदर गर्ने छन् भन्ने फैसला गर्ने छ।