• २१ माघ २०८२, बुधबार

बिमा भुक्तानीको समस्या : सरकारी अस्पताल आफैँ बिरामी

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २१ गते । गएको वैशाखदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी पूरा नपाउँदा जिल्लास्तरको एक मात्र सरकारी बेनी अस्पताल आफैँ बिरामी अवस्थामा पुगेको छ । उपचारमा सहजताका लागि स्वास्थ्य बिमा गरेका बिरामीको उपचार सदरमुकाममा रहेको प्रदेश अस्पतालले सबा तीन करोड रुपियाँभन्दा बढी भुक्तानी पाउन सकेको छैन । 

गत आवको वैशाखदेखि यता झन्डै एक वर्षकै स्वास्थ्य बिमा तथा ‘डायलायसिस’ बापतको तीन करोड २६ लाख रुपियाँभन्दा बढी रकम भुक्तानी नपाउँदा अस्पताल अब आफैँ बिरामी जस्तो अवस्थामा पुगेको बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो । 

बेनी अस्पतालले गएको वैशाखदेखि पुस मसान्तसम्म डायलासिसतर्फको स्वास्थ्य बिमा ४५ लाख ७५ हजार रुपियाँ र स्वास्थ्य बिमातर्फ दुई करोड ८० लाख ९५ हजार ४८५ गरी कुल तीन करोड २६ लाख ७० हजार ४८५ रुपियाँ भुक्तानी पाउन बाँकी छ ।

बेनी अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीको स्वास्थ्योपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले उक्त रकम बेनी अस्पताललाई भुक्तानी गर्नुपर्ने हुन्छ तर बोर्डले समयमा रकम भुक्तानी नदिँदा अस्पतालले भुक्तानी पाउनुपर्ने रकम बढ्दै गएको हो ।

बेनी अस्पतालले पाउनुपर्ने स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा औषधी तथा उपकरण खरिद, कर्मचारीको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा. बाँस्तोलाको भनाइ छ । अस्पतालले पाउनुपर्ने रकम भुक्तानीका लागि ताकिता गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । हालै मात्र स्वास्थ्य मन्त्री डा. सुधा गौतमलाई समेत अस्पतालको समस्याबारेमा कुरा राखेको र उहाँले समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको भए पनि खासै केही प्रगति नभएको प्रदेश अस्पताल बेनी व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले भन्नुभयो । 

स्वास्थ्य बिमा गरेका बिरामीहरू समस्या पर्दा अस्पताल आइपुग्छन् । पीडितलाई सेवा दिनै प¥यो तर बोर्डले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधी, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको डा. बाँस्तोलाले भन्नुभयो । 

अस्पताल व्यवस्थापन समितिको कोषबाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब भने मुस्किल देखिएको उहाँको भनाइ छ । स्वास्थ्य बिमामा आबद्ध भएका म्याग्दी जिल्ला र पर्वतको जलजला गाउँपालिकाका अधिकांश बासिन्दाले अस्पतालबाट सेवा लिने गरेका छन् । 

स्वास्थ्य बिमा बोर्डले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बानियाँले सुनाउनुभयो । एक परिवारका लागि तीन हजार पाँच सय रुपियाँ तिरेमा पाँच जनाका लागि हालसम्म एक लाख बराबरको उपचार गर्न पाइने व्यवस्था रहेको छ ।